मकवानपुरको क्रिकेट टिम ।

हेटौँडा : काठमाडौंमा जारी प्रधानमन्त्री कप बागमती प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा सोमबार लिग चरणको अन्तिम खेलमा ललितपुरले मकवानपुर सामु ३ सय ३८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भइरहेको खेलमा पहिले व्याटिङ गरेको ललितपुरले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ३७ रन बनाएको हो । ललितपुरले टस जितेर व्याटिङ रोजेको थियोे । ललितपुरका लागि ५ नम्बरमा व्याटिङ गर्न आएका व्याटर विवेक राना मगरले शतकीय पारी खेलेका छन् । ७१ बल्लमा शतक पूरा गरेका विवेकले ९० बल्लमा नटआउट १५९ बनाए । विवेकसँग राम्रो साझेदारी गरेका अर्का व्याटर सचिन लेखक ७१ रनमा आउट भए । विवेक र सचिनले चौथो विकेटका लािग १७९ रनको साझेदारी गरे । ललितपुरका लागि रोनिम तिवारीले ५३ रन, आदिल खानले २३ रनको योगदान गरे ।

मकवानपुरका सुभ कंसकार, रिजन ढकाल र तक्षक सिम्खडाले समान १ विकेट लिए । मकवानपुर फाइनलको दौडबाट यसअघि नै बाहिरी सकेको छ भने ललितपुरले यो खेल जिते फाइनलमा प्रवेश गर्नेछ । यसअघि काठमाडौंले फाइनल खेल्ने निश्चित भइसकेको छ । तल्लो मुलपानी क्रिकेट मैदानमा भइरहेको अर्को खेलमा चितवन र भक्तपुर प्रतिस्पर्धा गरिरहेको छ । यस्तै माथिल्लो मूलपानी क्रिकेट मैदानमा काठमाडौं र त्रिभुवन विश्वविद्यालय बीचको खेल भइरहेको छ ।