हेटौँडाः दुई वर्ष अगाडि सवारी दुर्घटनामा परी घाइते भएका तेज बहादुर सिजाली मगर को उपचारको क्रममा मृत्यु भएको छ । २०७९ सालमा सवारी दुर्घटनामा घाइते भएका सिन्धुली कमलामाई नगरपालिका –७, रामपुरका २६ वर्षीय मगरको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।


२०७९ साल चैत्र २ गते सिन्धुलीको तिनपाटन गाउँपालिका –२, गैरीस्थित सिन्धुली–चकमके सडक–खण्डमा सिन्धुलीबाट भिमस्थानतर्फ जांँदै गरेको ग ८ प ६४५८ नम्बरको मोटरसाइकल र चकमकेबाट सिन्धुलीतर्फ जाँदै गरेको बा प्र ०१–०२७ च ४३७२ नम्बरको बोलेरो गाडि एक–आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक मगरको टाउकोमा चोट लागी गम्भिर घांईते भएका थिए । मगर बिगत २ बर्ष देखी सन्धिुली जिल्ला अस्पतालमा उपचार थियो । यस अघि नै मुद्धा चली ३ बर्ष कैद सजाय पाएका बोलेरो चालक चालक तिनपाटन –९, आम्बोटे बस्ने २७ वर्षीय शेसराज पहाडी जेन्जी आन्दोलनमा सिन्धुली कारागारबाट भागी फरार भएका छन् । फरार बोलेरो चालक पहाडीकोे खाजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार नै चितवनको इच्छाकामना गाउँपालिका –६ जलबिरेमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एका जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । राती १० बजेर ३० मिनेटको समयमा मुग्लिङबाट नारायणघाटतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०४३९ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०६–००७ प ५१४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक चितवनको माडी नगरपालिका –८ कल्याणपुर बस्ने २८ वर्षीय मौसम रामधाम र पछाडी सवार माडी ६ बस्ने २६ वर्षीय शंकर सुनार घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोमा सुनारको आईतबार बिहान ४ बजेर २० मिनेटको समयमा मृत्यु भएको हो । ट्रक चालक उदयपुरको कटारी नगरपालिका –२ बस्ने ३२ वर्षीय खिल राज थापा जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको छ ।