आइतबार ११६ औँ अन्तर्राष्ट्रिय नारी (महिला) दिवस मनाइयो । हरेक वर्ष मार्च ८ तारिखका दिन विश्वभर नारी (महिला) दिवस मनाउने गरिएको छ । ‘सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर’ भन्ने नाराका साथ नारी दिवस सामान्य औपचारिकतासहित मनाइएको छ । विगतका वर्षहरुमा विभिन्न राजनीतिक दलको महिला संगठन, सरकारी निकाय तथा गैरसरकारी संस्थाहरुको आयोजनामा भव्यरुपमा मनाउने गरिएको नारी दिवस यो वर्ष निर्वाचनको कारण ओझेलमा परेको हो । ११६ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा सोही मन्त्रालयका सचिवले शुभकामना सन्देश दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको कार्यकक्षमा सामान्य औपचारिक कार्यक्रम गरेर नारी दिवस मनाउनेबाहेक संघीय तहमा खासै कार्यक्रम भएन ।
सन् १९११ मार्च ८ तारिखका दिन पहिलोपटक अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको थियो । नारी हित र अस्मिताको लडाइँ धेरै पहिलादेखि चल्दै आएको भए पनि यसको सांगठनिक अभियान भने सन् १९०० पछि सुरु भएको पाइन्छ । यसपछिका अवधिमा विश्वभरि महिलाको हक, हितका निम्ति निरन्तर आवाज उठाइँदै आइरहेको छ । सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । नारी मुक्ति आन्दोलनकी प्रणेताको रुपमा परिचित जेट्किनको नेतृत्वमा १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिला कामदारहरुले हड्ताल गर्दै विशाल जुलुस प्रदर्शन गरे । महिला हक अधिकारका लागि आवाज उठेको सोही आन्दोलनको स्मरणमा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित ग¥यो र सन् १९११ देखि विश्वभर विभिन्न कार्यक्रम गरेर मार्च ८ मा यो दिवस मनाउन थालियो ।
दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्र संघको स्थापना र सक्रियतामा विश्वभरिकै मुलुकका नारीलाई एकजुट बनाउँदै लगेको छ । महिलाको हक, अधिकार, न्याय, शान्ति र विकासका लागि दशकौँ अघिदेखि प्रयास जारी रहे पनि धेरैतिर समस्या छ । महिलामाथि हुने शोषण, उत्पीडन, भेदभावलगायतका समस्या अझै अन्त्य भएका छैनन् । अदम्य उत्साह, अनुपम उमङ्ग, जोस, जाँगरसाथ नारी स्वयम् अगाडि नबढेसम्म अपेक्षित परिणाम हासिल नहुने यथार्थबोध अहिलेका नारीले बुझ्नुलाई सकारात्मक मान्नुपर्छ । नेपालमा पनि राजनीतिक परिवर्तनसँगै नारीप्रति हेरिने दृष्टिमा पनि धेरै सुधार आएको छ । संविधान, कानुन, नीति, नियम आदिमा महिलाको हितअनुकूल पर्याप्त व्यवस्था हुनु सुखद् पक्ष हो । पितृसत्तात्मक सोचका कारण नेपाली समाजमा महिलाहरुले अझै पनि धेरै भेदभाव र अमानवीय व्यवहार भोगिरहेका छन् । महिला र पुरुषलाई एक रथका दुई पाङ्ग्रा भन्ने गरिए पनि व्यवहारमा महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गरिएको छ ।
देशव्यापी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना चलिरहेको र स्थापित पुराना दलहरुको निर्वाचन परिणाम कमजोर बनिरहँदा यस वर्षको नारी दिवस समेत ओझेलमा परेको छ । राज्यका हरेक निकायमा एक तिहाइ महिला सहभागिता सुनिश्चित गरेको अवस्थामा यस पटकको निर्वाचनमा पनि महिला सहभागिता निकै कमजोर देखिएको छ । प्रत्यक्षतर्फ ३ हजार ४ सयभन्दा बढी उम्मेदवार बन्दा महिलाको संख्या ३ सय ८८ मात्र हुनुले महिला सहभागिता न्यून रहेको स्पष्ट हुन्छ । ती मध्ये पनि १४ जनामात्रै निर्वाचित हुनुले प्रतिनिधिसभामा महिलाको उपस्थिति कमजोर हुने भएको छ ।











