हेटौँडा : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कविता प्रतियोगिता डिबी बर्तौला प्रथम भएका छन् । मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा आईतबार सम्पन्न प्रतियोगितामा साईराम बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष बर्तौला प्रथम भएका हुन् ।
प्रतियोगितामा महिला सेवा बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष अचला शर्मा द्वितीय र जागरण बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक मेनुका दहाल तृतीय भएका हुन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएकाहरुले क्रमशः ७ हजार, ५ हजार, र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी प्रतियोगितामा सन्त्वाना स्थान हासिल गरेका गणपति बाबा बचत तथा ऋण सहकारीका व्यवस्थापक युवराज तिमल्सिनाले २ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । महिला दिवसको अवसरमा ‘सहयोग, समर्थन, योगदानमार्फत महिलाहरुको अधिकार’ विषयक कविता प्रतियोगिता भएको थियो ।
प्रतियोगिताका लागि कूल १८ वटा कविता प्राप्त भएको थियो । प्राप्त कविताहरूमध्ये पहिलो चरणको मूल्याङ्कनबाट १० वटा कविताहरू अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको थियो । उत्कृष्ट १० मा छनोट भएका कविहरूले आईतबार भएको कार्यक्रम उपस्थित भएर आ–आफ्ना कविता वाचन गरेका थिए । प्रतियोगितामा संघका सदस्य सहकारी संस्थाका कार्यसमिति, पूर्वसमिति तथा कर्मचारीहरु मात्रै सहभागिता रहेको थियो । सोही अवसरमा संघले तनाव व्यवस्थापन कार्यशाला पनि आयोजना गरेको थियो । तनाव व्यवस्थापन कार्यशालामा मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठकी सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशकी मुख्य न्यायाधीवक्ता अप्सरा बस्नेतको प्रमुख आतिथ्य रहेको थियो ।











