आज फागुन २१ गते देशका लागि एउटा ऐतिहासिक दिन बन्दैछ । आज देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान हुँदैछ । यो निर्वाचनपछि देशमा एउटा नयाँ अध्यायको सुरुवात हुने अपेक्षा गरिएको छ । २०८४ मा हुनुपर्ने प्रतिनिधिसभा निर्वाचन २०८२ मा हुनुको पछाडि विशेष कारण छ । अहिलेको प्रतिनिधिसभा निर्वाचन विगतको जस्तै भए पनि यस पटकको निर्वाचनलाई धेरैले निकै महत्वका साथ लिएका छन् । यस पटकको निर्वाचनमा पुराना र नयाँ राजनीतिक दलबिचको प्रतिस्पर्धाको रुपमा हेरिएको छ । लामो समयदेखि शासन सत्तामा हालीमुहाली गरिरहेको नेपाली कांग्रेस, नेकपा एमाले, तत्कालीन नेकपा माओवादी (हाल नेकपा)ले आफ्नो विरासत जोगाउलान् वा आफूलाई नयाँ र वैकल्पिक दावी गरिरहेका रास्वपा, उज्यालो, श्रम संस्कृतिजस्ता दलले चुनावी नतिजालाई आफ्नो पक्षमा ल्याउलान् भन्ने कौतुहलता धेरै नेपालीलाई भइरहेको छ । निर्वाचनको नतिजा पुराना वा नयाँ कुन दलहरुको पक्षमा आउँछ भन्ने कुरा मतदाताले प्रदान गर्ने मतमा निर्भर हुने निश्चित छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण अहिले निर्वाचन हुन लागेको हो । उक्त आन्दोलन र त्यसको परिणामबाट आलोचित बनेका पुराना राजनीतिक दलहरु फेरि चुनावी मैदानमा छन् । जेनजी आन्दोलनलाई समर्थन गरेर राजनीतिमा उदाएकाहरु तिनै पुराना दलका प्रतिस्पर्धी बनिरहेका छन् । जेनजी आन्दोलनमा धेरै मानिसको ज्यान जाने अवस्था सिर्जना हुनु र राष्ट्रिय धरोहरसहितका भौतिक संरचना ध्वस्त बनाउनुलाई लिएर एक–अर्कामा दोषारोपण गर्दै आएका दल तथा तिनका उम्मेदवारमध्ये कसलाई जनताले मतदान गर्लान् भन्ने चासोले यो निर्वाचनलाई विशेष बनाएको छ । पुरानाले गलतमात्रै गरेको र नयाँले सबै ठिक पार्नेछ भन्ने एकाथरी अनि नयाँले केही गर्न सक्दैन, पुरानाले देशलाई जोगाएर यहाँसम्म ल्याएको र अब फेरि देशलाई उठाउने क्षमता पनि पुरानासँगै छ भन्ने अर्कोथरीको बिचमा जनमत संग्रहजस्तो अहिलेको निर्वाचन देखिएको छ ।

निर्वाचनमा भाग लिनु वा मतदान गर्न पाउनु हरेक देशका नागरिकका लागि ठूलो अवसर हो । निर्वाचनबाटै आफ्ना प्रतिनिधि छनोट गर्न पाइने भएकाले आवधिक निर्वाचनलाई लोकतान्त्रिक शासन व्यवस्थाको महत्वपूर्ण विशेषता मानिन्छ । हरेक नागरिकले निर्वाचनको समयमा मतदान गर्नुअघि धेरै कुरा विचार पु¥याउनु आवश्यक छ । सही निर्णय लिएर देश र जनताको हित गर्ने व्यक्ति पहिचान गरेर मतदान गर्न सक्नुपर्छ । आफूले मतदान गरेको व्यक्ति/पार्टीले जित्यो वा हार्‍यो भन्ने कुरा व्यक्तिगत सफलता÷असफलता होला तर देशको लागि आवश्यक व्यक्ति/दलले जित्यो वा हार्‍यो भन्ने कुराले देशको भविष्य निर्धारण गर्दछ ।

निर्वाचनको सबैभन्दा महत्वपूर्ण क्षण भनेको मतदानको समय हो । मतदाताले मत दिने समयमा गर्ने निर्णयले नै आगामी ५ वर्षको भविष्य निर्धारण हुन्छ । कसलाई जिताउने र कसलाई हराउने अधिकार मतदातामा छ । मतदाताले मतदानको अधिकार प्रयोग गर्दा अवसर र चुनौती दुबै पक्षलाई केलाउनु आवश्यक छ । यसका लागि हरेक राजनीतिक दल र उम्मेदवारको सबल र दुर्बल पक्षहरु केलाउनु आवश्यक छ । जसमा धेरै सबल पक्ष भेटिन्छ, जसमा धेरै सकारात्मक पक्षहरु बढी छ र जसमा धेरै सम्भावनाहरु देखिन्छ उसैलाई मतदान गर्न सकेमा निर्वाचनलाई वास्तवमै अवसर बनाउन सकिन्छ । आजको दिनमा हरेक मतदाताले उत्साहका साथ योग्य र सक्षम उम्मेदवार चयनका लागि मतदान गरेर देशमा राजनीतिक स्थायित्व कायम भएमा देशलाई विकास र समृद्धितर्फ अघि बढाउन सहज हुने विश्वास गर्न सकिन्छ ।