२०८२ फागुन २१ गते जति नजिकिँदै छ त्यति नै विभिन्न राजनीतिक दलहरु र स्वतन्त्र उम्मेद्वारहरुले आफ्नो एजेन्डा प्रस्तुत गर्न आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरु माझ पुगेर भेटघाटमा व्यस्त छन् । यसलाई नै चुनावी भाषामा घरदैलो भनिन्छ । तर आम मतदाताहरू भने उम्मेद्वारको कार्यशैलीप्रति चकित परिरहेको भान हुन्छ । के छापा माध्यमबाट र विद्युतीय माध्यमबाट प्रचार–प्रसार गरेर मात्र पुग्दैन ? विभिन्न ठाउँहरुमा ठूला–ठूला आमसभाहरुमा भाषण गरेर जनताका मत जित्न र उनीहरूलाई आफ्नो पक्षमा तान्त वा आश्वस्त पार्न सकिदैन ?

आफ्नो प्रतिनिधिसभा क्षेत्रका टोल–टोलमा मतदाता जम्मा गरेर आफ्ना वाचा र प्रतिज्ञा राख्न सकिँदैन ? यी प्रश्नहरू तिनै निर्वाचनमा उम्मेद्वार बनेका जनप्रतिनिधिहरुसँग सोधिएको हो ? विभिन्न दलका उम्मेद्वारहरु मध्य कोही पहिलो पल्ट उम्मेद्वार बनेर मतदातालाई आफ्नो परिचय दिन घरदैलो गरिरहेका छन् भने कोही पटक–पटक एउटै दलको नामबाट उही अनुहार लिएर मतदाताहरूसमक्ष दुई हात जोडेर दैलो र आँगनमा खिस्स हाँस्दै आफ्नो चुनाव चिन्ह र पार्टीको लोगो भएको पर्चा हातमा थमाउँदै भोट माग्न व्यस्त देखिन्छन् । के यो कार्यशैलीले जनता र मतदाताको चित्त बुझाउन सक्छ ? अहिले मतदाताहरु माझ नयाँ छान्ने कि पुराना रोज्ने भन्ने कुरामा गम्भीर विचार विमर्श भइरहेको छ ।

अब कुरा उठ्छ नयाँ र पुराना भनेर कसरी चिन्ने वा बुझ्ने ? जस्तो कि युवा र प्रौढ बीचमा उमेरगत भिन्नता छ । त्यसैगरी बालबालिका र वृद्धमा पनि भिन्नता छ, त्यसैगरी नयाँ र पुरानामा पनि पक्कै भिन्नता (पहिचान) छ । जस्तो कि नयाँ मतदाता भन्नाले पहिलो पटक १८ वर्ष उमेर पूरा भई बालिग भएर मतदाता नामावलीमा नाम दर्ता भएको वा चुनावमा मताधिकार प्राप्त व्यक्ति भन्ने बुझिन्छ । पुराना मतदाता भन्नाले धेरै पटक मतदान कार्यमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गरेको व्यक्ति भन्ने बुझिन्छ । अब यसरी नै हरेक मतदाताले नयाँ र पुराना दल (पार्टी) लाई आफैँले परिभाषित गरेर चिन्नुपर्ने हुन्छ ।

हजुरबाको पालामा घरदैलोमा आउने उम्मेद्वार उही पार्टीको वीर बहादुर थिए । त्यतिबेला म जन्मेको पनि थिइनँ । बाको पालामा घरदैलोमा आउने उनै वीर बहादुर थिए । अहिले म पनि मतदाता भएको छु । फेरि पनि त्यही वीर बहादुर काका हामीसँग भोट माग्दै घरदैलोमा आउनुहुन्छ । यस्तो अवस्थामा आजको युवाले उनलाई पुरानो नभनेर के भन्ने ? कहिलेकाहीँ एउटै व्यक्ति अर्काे नयाँ दलको उम्मेद्वार बनेर आउँछ भने त्यस्तो उमेद्वारलाई पनि जनताले राम्ररी चिन्नुपर्छ । वर्षौवर्ष एउटै दलको नाममा चुनाव जितेर संसदमा पुग्ने र आफ्नो दलको सरकार बनाए पनि देशको आर्थिक विकासमा ध्यान नदिने, भ्रष्टाचार गरेर अकुत सम्पत्ती आर्जन गरी देशका मुख्म–मुख्य शहरमा आलिशान घर (महल) ठड्याउने, नाती पुस्तालाई पुग्ने गरी सम्पत्ती आर्जन गर्ने व्यक्तिहरुलाई मतदाताले अब फागुन २१ गते चिन्ने बेला आएको छ ।

यही समयमा तपाइ मतदाताले त्यस्ता उम्मेद्वारलाई दण्डित गर्ने अधिकार राख्नुहुन्छ । त्यस दिन तपाई एउटा असल न्यायाधीशको भूमिकामा हुनुहुन्छ । कुनै दल भर्खरै यहि २०८२ सालको निर्वाचनमा सहभागी हुन निर्वाचन आयोगमा दर्ता भएको छ र त्यस पार्टीको उम्मेद्वार पनि युवा वा नयाँ व्यक्तिको रुपमा घरदैलोमा आउनु भएको छ भने वहाँलाई नयाँ भन्नै पर्छ । तर नयाँ पार्टी दर्ता गर्ने बित्तिकै उही पुरानो दलमा रहेका नेताहरू नयाँ दलमा आवद्ध भई उम्मेद्वार बनेर चुनावमा मत माग्न आएका छन् भने त्यस्तालाई नयाँ कसरी मान्न सकिन्छ ? त्यसैले अब आम मतदाताले नयाँ र पुराना भनेर अलमलिने होइन कि देशमा परिवर्तनको पक्षमा आफ्नो मताधिकार प्रयोग गर्नु उपयुक्त हुन्छ । केही गरी आफ्नो निर्वाचन क्षेत्रमा पुरानो दलको पुरानै व्यक्ति उम्मेद्वार भएपनि संसदमा गएर ताली मात्र बजाउने भन्दा पनि आफ्नो स्थानीय क्षेत्रको एजेन्डा र समस्या राख्ने र समाधान गर्न सक्ने उम्मेद्वार छान्न मतदाताले दृढ निश्चय गर्नुपर्छ । यदि हामी मतदाता कहीँ कतै आर्थिक प्रलोभनमा प¥यौँ र मताधिकारको सही प्रयोग गरेनौं भने फेरि ५ वर्ष उनीहरुले हामीमाथि अन्याय अत्याचार गरिरहन्छन् । हाम्रो देश अरु २० वर्ष पछि धकेलिन्छ ।
विगत लामो समयदेखि राज्यसत्तामा रहेर शासन गर्ने दलका नेताहरू अहिले पश्चताप गरिरहेका छन् । उनीहरुलाई नयाँ र जनताका आशा–भरोसाका वैकल्पिक दलहरूका कारण दबाबमा परेका छन् । २०८० भाद्रमा १९ दिने काठमाडौं केन्द्रीत शिक्षक आन्दोलन तथा २०८१ चैत्रमा पुनः दोस्रो पटक भएको २९ दिन लामो माइतिघर मण्डलामा भएको शिक्षक आन्दोलनको अवमूल्यन गरी शिक्षकलाई विद्यालय फर्काउने तत्कालिन सत्तासिन दलहरू अहिले कुन अनुहार लिएर मत माग्न शिक्षक र उनीहरूका सामु आउलान हेर्न बाँकी छ । तत्कालिन समयमा शिक्षकले राखेका विद्यालय शिक्षा ऐन जारी गर्न र शिक्षक कर्मचारीका जायज मागहरू सम्बोधन गर्न गरेको आन्दोलन औचित्यहिन ठान्नेहरूले एक माघले जाडो गइहाल्छ नि भनेर लत्याए ।

अब फेरि सरकार बनेपछि शिक्षकले राखेका सबै भाग पूरा गर्ने आश्वासन दिँदै तपाइ हाम्रो घरदैलोमा आउँदै छन् । त्यस प्रकारको आश्वासनमा पक्कै पनि शिक्षकहरुले विश्वास गर्ने छैनन् र परिवर्तनका पक्षमा आफ्नो मताधिकार प्रयोग गर्नेछन् । जतिबेला शिक्षक आन्दोलनको दोस्रो अध्याय चलिरहेको थियो, त्यसबेला प्रधानमन्त्री, शिक्षा तथा विज्ञान प्रविधि मन्त्री र शिक्षा समितिका सभापति एउटै दलका प्रतिनिधित्व गर्ने सांसदहरु थिए । शिक्षा ऐन जारी गर्न सक्ने सबैभन्दा उपयुक्त अवसर र समय थियो त्यो तर तत्कालिन प्रधानमन्त्री नै शिक्षा विधेयकको विपक्षमा देखिनुभयो जसका कारण शिक्षा ऐन आउन सकेन । शिक्षकहरुले आन्दोलनमा दुख र ठूलो समस्या भोग्न बाध्य भए ।

अब कुरा गराँै चुनावमा उम्मेद्वार बनेका व्यक्तिहरुका कार्यशैलीको बारेमा । प्रत्येक दलका उम्मेद्वार र स्वतन्त्र व्यक्तिहरु आफ्नो प्रचारको सिलसिलामा विजयी प्रतिनिधि जस्तो बनेर राता टिका निधारमा सयपत्री माला गलामा लगाएर हिँडेको देखिन्छ । मतदाता र नागरिकले पनि उनीहरुको भव्य स्वागत गरेको देखिन्छ । अरुबेलामा मतदाताले भेट्न खोज्दा भेट नहुने, सांसद बनेर संसदमा गएपछि आफ्नो निर्वाचन क्षेत्रमा देखानपर्ने र नमस्कार गर्दा समेत नमस्कार नफर्काउने जनप्रतिनिधिहरु चुनावको समयमा प्रत्येक मतदातासामु नमस्कार गर्दै झुठा आश्वासन दिन पुग्छन् । हो यस्तो बेलामा आम नागरिक र मतदाताहरुले कसैको करकापमा नपरी आफ्नो स्वविवेक प्रयोग गर्नुपर्दछ । चुनावमा भोट दिनु भनेको आफ्नो स्वविवेकीय अधिकार मार्फत जनप्रतिनिधि चुन्नु हो । यो लोकतन्त्रको एक गहना हो । सुन्दर पक्ष पनि हो । त्यसैले उम्मेद्वारहरु समयसापेक्ष बन्नु हुँदैन सदावहार व्यक्ति हुनुपर्छ । आफूलाई सधैँ जनताको सेवक सम्झनु पर्छ । महिनामा एक चोटी भएपनि आफ्नोक्षेत्रका मतदाताकोबारेमा जानकारी लिन टोलटोलमा जानु उपयुक माध्यम बन्न सक्छ । यस्तो कार्यले आफ्ना मतदाताको नजरमा सधैँ इमानदार र विश्वासीलो नेता बन्न सहयोग पुग्छ । त्यसैले आसन्न फागुन २१ को संसदीय निर्वाचनमा मतदाताहरु नयाँ र पुराना भनेर अलमलिने होइन कि परिवर्तन र अग्रगामी सोच भएका युवा र शिक्षित उम्मेद्वार चुन्न अग्रसर हुनुपर्ने देखिन्छ । अबको २ दिन यही विषयमा बहस र वार्ता गरौँ ।