हेटौँडा : मकवानपुर खेलकुद सरोकार समाज नेपालको प्रथम साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष वेश खड्कीको सभाध्यक्षतामा साधारण सभा शनिबार सम्पन्न भएको हो ।
साधारण सभामा संस्थाका महासचिव लालबहादुर पौडेलले आर्थिक वर्ष २०८१/८२ को प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । गत आर्थिक वर्षमा खेलकुद महोत्सवबाट प्राप्त २० लाख रुपैयाँ सहयोग, अध्यक्ष वेश खड्कीले वार्षिक ५० हजार रुपैयाँ दिने प्रतिबद्धता बमोजिम प्राप्त रकम, व्यवसायी सन्दिप महतबाट प्राप्त ५१ हजार ३ रुपैयाँ र अन्य माध्यमबाट प्राप्त रकम गरी संस्थाको बैंक खातामा सुरुमा २२ लाख ३२ रुपैयाँ जम्मा भएको कोषाध्यक्ष पौडेलले जानकारी दिनुभयो । फागुन मसान्तसम्म व्याजसहित संस्थाको खातामा कुल २२ लाख ७५ हजार १ सय ७ रुपैयाँ मौज्दात रहेको छ ।

संस्थाले आफ्नो अक्षय कोषलाई ५० लाख रुपैयाँसम्म पुर्‍याउने लक्ष्य राखेको छ । सोही कोषको व्याजमार्फत प्रत्येक वर्ष उत्कृष्ट खेलाडी, रेफ्री र प्रशिक्षकलाई ‘मकवानपुर खेलकुद अवार्ड’ प्रदान गर्ने निर्णय समेत संस्थाले गरेको छ । संस्थाका अध्यक्ष खड्कीले यसै महिनाको अन्त्यसम्ममा यस वर्षको अवार्ड घोषणा गर्ने बताउनुभयो ।

संस्थाले गत वर्ष १० जनालाई आजीवन सदस्यता र ७ जनालाई साधारण सदस्यता प्रदान गरेको छ । संस्थाले आजीवन सदस्यताका लागि ५ हजार र साधारण सदस्यताका लागि १ हजार रुपैयाँ शुल्क तोकेको छ । सांगठनिक व्यवस्था अनुसार अधिवेशनमा आजीवन सदस्यको २ मत र साधारण सदस्यको १ मत गणना हुने प्रावधान रहेको छ । मकवानपुरको खेलकुद क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले संस्थाको स्थापना गरिएको अध्यक्ष खड्कीले बताउनुभयो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका पूर्वप्रमुख हरी बहादुर महतको प्रमुख आतिथ्य रहेको थियो । साधारण सभामा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानको पनि आतिथ्य रहेको थियो ।