मिति २०८२ साल माघ महिनाको २ गते जाडो समय थियो र तापक्रम बिहानको ६ बजे १० डिग्री सेल्सियस थियो । भुटनदेवी माध्यमिक विद्यालयका शिक्षक, कर्मचारी र व्यवस्थापन समितिका केही सदस्यहरु गरी करिब ६० जनाको समूह २ वटा बस लिएर पश्चिम नेपालको यात्रामा निस्कियौँ । भुटनदेवी मावि हेटौँडाका विद्यालयहरुमा अब्बल दर्जामा आउने विद्यालय हो र यहाँका हरेक गतिविधीहरु शैक्षिक क्यालेन्डरले तोकेको तिथी मितिमा सम्पन्न गरिन्छ । यो भ्रमण पनि क्यालेन्डरमै तोकेको शैक्षिक अवलोकन भ्रमण थियो र मिति चाहीँ माघ महिनाको २, ३ र ४ गतेको थियो ।
पहिलो दिन मकवानपुरको लोथर भन्ने ठाउँमा चिया, खाजा र नवलपरासीको वर्दघाटमा बिहानको खाना खाएर करिब दिउँसो ३ बजेतिर बुटवलको ‘शान्ति नमूना माध्यमिक विद्यालय’ परिसरमा प्रवेश ग¥यौं । शान्ति नमूना माविका सहायक प्रधानाध्यापक दीप शाक्यले स्वागत गर्नुभयो । हामी विद्यालयको हलमा बस्यौँ । दीप सरले करिब १ घण्टाको प्रस्तुतीकरणबाट विद्यालयका हरेक गतिविधीहरु, असल अभ्यास र सुधारोन्मुख कुराहरु बताउनुभयो । केही समयको अन्तरक्रिया र विद्यालय अवलोकनमा हामीले २ घण्टा खर्च ग¥यौँ ।
शान्ति नमूना माविको नतिजा २०८१ सालको एसईईमा १८ जना विद्यार्थीको ४ जिपिएसहित देशकै उत्कृष्ट नतिजा थियो । त्यसैले हाम्रो पहिलो रोजाइ यो विद्यालय पर्न गयो । यो विद्यालयका ७ हजार भन्दा बढी विद्यार्थीहरु रहेछन् । बेलुका ५ बजेतिर हामी बुटवलकै कान्ति नमूना माध्यमिक विद्यालयमा गयौँ र करिब एक घण्टासम्म सोहि विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीसँग बितायौँ र विद्यालय अवलोकन ग¥यौँ । कान्ति नमूना माविको भौतिक बनावट र विद्यालय अगाडिको चौर व्यवस्थापन ज्यादै आकर्षक र मनमोहक लाग्यो । यो विद्यालयमा ६ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेछन् । यो विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरिसकेको रहेछ ।
दिनभरीको बस यात्रा, बस भित्रको नाचगान, दोहोरी र एकोहोरी गीतहरुको वर्षा, हाँसो र मनोरञ्जनको संगम र दुई ओटा विद्यालयको अवलोकनको स्मृति मानसपटलमा लिएर बुटबलको नेपालगञ्ज रोडमा अवस्थित होटल ‘दियो इन’ मा बास बस्न गयौं । बेलुकाको खानापछि संयोगले पर्न गएको ‘प्रिया बुढाथोकी’ मिसको जन्मदिन मनाउँदा र थप नाचगान गर्दा मनोरञ्जनको हिमपात नै भयो ।
भोलिपल्ट माघ ३ गते बिहान करिब ७ बजेतिर पूर्वनिर्धारित योजना अनुरुप हामी अर्घाखाँची जिल्लाको सुपा देउराली मन्दिर अवलोकनार्थ प्रस्थान ग¥यौं । बीचमा अर्घाखाँचीको चक्ला भन्ने ठाउँमा तात्तातो चिया मात्रै ग्रहण गरेर, ठाडा भन्ने ठाउँमा अवस्थित डमरु दहको अवलोकन गर्दै सुपा देउराली माताको मन्दिरमा पुग्यौं । सुपादेउराली माताको मन्दिर नेपालको चर्चित शक्तिपिठहरु मध्येको एउटा मानिन्छ र यसको महिमा अहिले देश विदेशमा फैलिएको छ । साथै त्यहाँको भौगोलिक बनावट, चिसो हावापानी र दैनिक हजारौं भक्तजनहरुको चहलपहलले त माताको महिमालाई अझै न्याय गरेको छ । दिउँसो १२ बजे मन्दिर नजिकै रहेको नरपानी रिसोर्टमा खाना खायौं र हामी गुल्मीको रुरु क्षेत्र रिडीतर्फ प्रस्थान ग¥यौँ ।
दिउँसो करिब चार बजे रिडी बजार पुग्दा माघे संक्रान्तीको तेस्रो दिन मान्छेको भिडले भूइँमा खुट्टा राख्ने ठाउँ थिएन । रुरु क्षेत्र रिडी पौराणिक कालको धार्मिकस्थल हो र तीन ओटा जिल्लाहरु गुल्मी, पाल्पा र स्याङ्जाको संगम हो र साथमा तीनै ओटा जिल्लालाई छुनेगरी बनाइएको झोलुङ्गे पुलले यो ठाउँलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाएको रहेछ । रिडी बजार अवलोकन र केही स्थानीय उत्पादनका सामानहरु खरिद गरेर हामी पाल्पा जिल्लाको रानी महल अवलोकन गर्न गयौं । रानी महल खड्ग समसेरले रानीको स्मृतिमा बनाएको तथ्य फेला पारियो । सयौँ वर्ष अगाडि निर्माण गरिएको महल, भूकम्पको कम्पनले केही नभएको सुन्दर र कला कौशलले भरिपूर्ण महलले हाम्रो कला र संस्कृतिलाई राम्रैसँग झल्काउने रहेछ । बेलुकी ८ बजे पाल्पा तानसेन बजारमा अवस्थित ‘होटल हवाइट लेक’ मा खाना खाएर बास बस्यौं र धुमधाम रमाइलो ग¥यौं ।
भोलिपल्ट ४ गते बिहान पाल्पाको तानसेन बजारमै अवस्थित दरबार संग्रहालय, भगवती मन्दिर, टुँडीखेलको अवलोकन, ढाकाका सामग्रीहरुको किनमेलसिछ खाना खाएर हामी पाल्पाकै वाँसटारीमा अवस्थित दमकडा नमूना माध्यमिक विद्यालयमा अवलोकन गर्न गयौं । विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद सापकोटा र शिक्षक साथीहरुको समूहले बडो रुची र उत्साहपूर्वक विद्यालयको अवलोकन गराउनुभयो । शिक्षक र कर्मचारीहरुको हकहितका लागि लडेको ऐतिहासिक युद्धमा विद्यालयका शिक्षक कर्मचारीहरु भनेर उहाँहरुले हामीलाई दर्शाएको आतिथ्य र सम्मान पृथक खालको थियो ।
हामीले भ्रमण गरेका तीनओटै विद्यालयका आफ्ना आफ्नै विशेषताहरु छन् र राम्रा पक्षहरु पनि । दमकडा माविका अभ्यासहरु अलि फरक छन् । यो विद्यालयमा विद्यार्थीको संख्या ९ सय मात्रै छ तर गुणस्तरीय छ । विद्यालयमा आफ्नै रेकर्डिङ स्टुडियो छ, जहाँ ओजस्वी आचार्य जस्ता विद्यार्थीहरु जन्मिरहेका छन् । विद्यालयमा विज्ञानका प्रयोगशालाहरु +२ का लागि र कक्षा १० सम्मका लागि छुट्टाछुट्टै छन् ।
पुस्तकालयको संरचना, पढ्ने ठाउँ र बैठक हलहरु छुट्टाछुट्टै तहका लागि प्रशस्तै छन् । वृत्ति प्रयोगशाला, स्वास्थ्य उपचार कक्ष, गणित प्रयोगशाला, घरमा नपढ्ने विद्यार्थीहरुका लागि छात्राबासको व्यवस्था आदि । दमकडा माविमा विद्यार्थी भर्नामा छनौट हुँदैन, जस्तो विद्यार्थी आएपनि भर्ना लिने र उसको व्यवहार परिवर्तन गरेर नतिजा दिने । विद्यार्थी छनौट नगर्दा पनि एसईईको नतिजा ७४ प्रतिशत छ । दमकडा माविमा विद्यार्थीहरु ठूला सहरहरु तिर झर्ने भएकोले संख्या घट्दो पाइन्छ भने बुटवलका विद्यालयमा विद्यार्थी संख्या बढ्दो छ ।
अब केहिबेर हामी कसरी अगाडि बढ्ने भन्ने कुरामा चर्चा ग¥यौँ । रिडी बजारको अवलोकन गर्दा त्यहाँ व्यापार गर्ने र चटक देखाउने, खेल खेलाएर पैसा कमाउने अधिकांश व्यक्तिहरु भारतीय छन् । यो एउरा उदाहरण मात्रै हो रिडी बजारको तर हाम्रो समाजमा सिपमूलक काम गर्ने मान्छेहरु बाहिरका छन् तर हामीले शिक्षा दिएका विद्यार्थीहरु छैनन् । हामीले शिक्षा दिएका विद्यार्थीहरु विदेश पलायन भइरहेका छन् त्यो पनि नफर्कनेगरी । विदेश पलायन हुने कुरामा धेरै कारक तत्वहरु होलान् तर एउटा कारक तत्व चाहीँ सिपमूलक शिक्षा नभएर हो । हामीले अध्यापन गर्ने विद्यालयहरु विशेषगरी हेटौँडा बजारमा एसईईमा कति प्रतिशत विद्यार्थी पास भए भनेर मात्रै हेरिन्छ र धेरै प्रतिशत पास गराउने विद्यालय राम्रा र त्यहाँका शिक्षकहरु पनि राम्रा भनेर मापन गरिन्छ ।
अझ अहिले त कति जनाको ४ जिपिए आयो ? कति जनाको ए प्लस आयो भनेर मापन गरिन्छ जुन सरासर गलत छ । गे्रडिङ प्रणालीको मर्म हामीले विद्यार्थी, अविभावक र स्वयम् शिक्षक र विद्यालयलाई पनि बुझाउन सकेनौँ । मैले विद्यार्थी पास नभएपनि हुन्छ भन्न खाजेको होइन तर हामीले अध्यापन गरेका विद्यार्थीहरुमा जिवन निर्वाह गर्ने कुनै न कुनै सीप विकास भएको हुनु पर्दछ र त्यो सीप प्रयोग गर्ने अवसर हाम्रा सरोकारवाला निकायहरूले प्रदान गर्नु पर्दछ । हामीले कतिजनाको ए प्लस र ४ जिपिए आयो भनेर अस्वस्थ प्रतिस्पर्धा गर्ने होइन बरु कति जनाले जिवनोपयोगी सीप सिकेका छन् ? राम्रो सत्कार सम्मान, असल व्यवहार गर्न जानेका छन् छैनन् ? भनेर मापन गर्नु पर्दछ । हामीले परापूर्व कालदेखिको नेपाली संस्कार, आदर सत्कार, सहयोगी भावना हाम्रा विद्यार्थीमा जगाउनु पर्दछ । हामीले समय अनुसारको विज्ञान प्रविधीसँग पनि परिचित र घुलमिल हुँदै संस्कार भित्रको सिकाइ र नयाँ आविष्कारलाई जोड दिनु पर्दछ ।
(पोखरेल हेटौँडा–४ स्थित भुटनदेवी माविको सहायक प्रधानाध्यापक हुनुहुन्छ ।)











