बागमती गाउँपालिकास्थित जनता माध्यमिक विद्यालयमा एसईईको तयारीमा आवासीय सुविधासहित बसेका विद्यार्थी ।

सुमिना चौलागाई

हेटौँडा : मकवानपुर जिल्लाबाट २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ७ हजार २ सय जना विद्यार्थी सहभागी हुने भएका छन् । जिल्लाको १० वटा स्थानीय तहका सामुदायिक तथा संस्थागत विद्यालयका ७ हजार २ सय विद्यार्थी एसईईमा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीले जानकारी दिनुभयो । नतिजा सुधारका लागि पालिका र विद्यालयहरुले अतिरिक्त कक्षाका साथै केहि विद्यालयहरुले आवासीय सुविधासहित विद्यार्थीलाई विद्यालयमै राखिरहेको छ ।

बकैया गाउँपालिकाका विद्यालयहरुले एसईई तयारीका लागि अतिरिक्त कक्षाहरू सञ्चालन गरेका छन् । केही विद्यालयहरूले बन्द प्रशिक्षणमै राखेर पठनपाठन सुरु गरेका छन् भने केही विद्यालयहरूले अतिरिक्त कक्षाहरूमात्रै सञ्चालन गरेका छन् । गाउँपालिकामा रहेका १२ वटा माध्यमिक विद्यालयहरूबाट एसईईमा यस वर्ष ३६७ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

पालिकाभित्रको कालिका मावि, महेन्द्र मावि र जनजागृति माविले बन्द प्रशिक्षण र बाँकी विद्यालयहरूले अतिरिक्त कक्षाहरू सञ्चालन गरेको पालिकाका शिक्षा अधिकृत आइतराम तामाङले जानकारी दिनुभयो । बन्द प्रशिक्षणमा राखेर पठनपाठन गराइरहेका विद्यालयहरूले अभिभावकसँगको सहकार्यमा पठनपाठन गराएका हुन् । गत वर्ष पालिकाभित्रको दुई विद्यालयको नतिजा शून्य रहेको थियो । शून्य नतिजा आएको कालिका माविले यस वर्ष बन्द प्रशिक्षणमा विद्यार्थीलाई राखेर पठनपाठन गराइरहेको छ भने प्रसिद्ध माविले विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गरेको छ । पालिकाले केही रकम सहयोग स्वरूप विद्यालयहरूलाई उपलब्ध गराएको शिक्षा शाखा प्रमुख तामाङले जानकारी दिनुभयो ।

पालिकाभित्र शिक्षक दरबन्दी कम, संघीय अनुदानका शिक्षक, अभिभावकको कम चासो, समुदाय विद्यालय व्यवस्थापन समिति कम सक्रिय हुनुका कारण विद्यालयले शून्य नतिजा हासिल गरिरहेको प्रमुख तामाङको भनाइ छ । २०८० सालमा नियमिततर्फ १६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने २०८१ सालमा १९ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका थिए । आगामी दिनमा राम्रो नतिजा हासिल गर्नका लागि पालिकाले पनि सहयोग र सहकार्य गर्दै आएको उहाँले बताउनुभयो ।

राक्सिराङ गाउँपालिकाको ४ वटा विद्यालयले आवासीय सुविधासहित पठनपाठन गराएको छ भने २ विद्यालयले अतिरिक्त कक्षा सञ्चालन गरेको छ । यसवर्ष पालिकाभित्र रहेको ६ वटा माध्यमिक विद्यालयबाट १८७ जना विद्यार्थी एसईईमा सहभागी हुने पालिकाका शिक्षा शाखा प्रमुख पंकस थारुले जानकारी दिनुभयो । २०८१ सालमा पालिकाको ६ वटा विद्यालयबाट १८६ जना परीक्षामा सहभागी भएकोमा १२ जना विद्यार्थीमात्रै उत्तीर्ण भएका थिए । राक्सिराङका ६ मध्ये ३ वटा विद्यालयको नतिजा निल (शून्य) आएको थियो । २०८० सालमा राक्सिराङ गाउँपालिकामा २३ जना विद्यार्थी एसईईमा उत्तीर्ण भएका थिए । जिल्लाको दुर्गम पालिकामा विषयगत शिक्षक नहुनुले नतिजा राम्रो नआएको राक्सिराङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख थारुको भनाइ छ । पालिकाको नतिजा कमजोर भएको उल्लेख गर्नुहुँदै उहाँले सुधारका लागि पालिकाले प्रयास गरिरहेको बताउनुभएको छ ।

भीमफेदी गाउँपालिकाका ८ वटा विद्यालयबाट यसवर्ष एसईईमा १८९ जना विद्यार्थी सहभागी हुनेछन् । पालिकाभित्रका ४ वटा विद्यालयले आवासीय सुविधासहित पठनपाठन गराएको छ भने ४ वटा विद्यालयले अतिरिक्त कक्षा सञ्चालन गरेको छ । ४ वटा विद्यालयलाई वडा कार्यालयले खाना र खाजाको व्यवस्थासमेत गरेको पालिकाका शिक्षा शाखा प्रमुख चक्र साउदले जानकारी दिनुभयो । २०८० सालको तुलनामा २०८१ सालमा नतिजा सुधार गर्दै पालिकाबाट २३.४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । २०८० सालमा ९.८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यसवर्ष नतिजा सुधार गर्दै ५० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउने योजना रहेको प्रमुख साउदले जानकारी दिनुभयो ।

बागमती गाउँपालिकाभित्र रहेका ५ वटा माध्यामिक विद्यालयबाट एसईईमा २७१ जना विद्यार्थी सहभागी हुने भएका छन् । पालिकाले अतिरिक्त कक्षा सञ्चालनका लागि विद्यालयलाई नै जिम्मेवारी दिएको पालिकाका शिक्षा शाखा प्रतिनिधि प्रमोद राईले जानकारी दिनुभयो । अघिल्लो वर्षको तुलनामा यसवर्ष नतिजा अझै सुधार गर्ने उहाँको भनाइ छ । २०८० सालको तुलनामा २०८१ सालमा नतिजा सामान्य सुधार भएको थियो । २०८० सालमा ३३९ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए भने २७ जनामात्रै उत्तीर्ण भएका थिए । यस नतिजालाई सुधार गर्दै २०८१ सालमा २ सय ७७ जना विद्यार्थीमध्ये ४६ जना (१६.६१ प्रतिशत) विद्यार्थी उत्तीर्ण भएका थिए ।

इन्द्रसरोवर गाउँपालिकाका २ वटा विद्यालयले बन्द प्रशिक्षणमा राखेर पठनपाठन गराएका छन् भने ४ वटा विद्यालयले अतिरिक्त कक्षा सञ्चालन गरेका छन् । कक्षा सञ्चालनका लागि गाउँपालिकाले ६ वटा माविलाई २ लाख रुपैयाँ सहयोग गरेको शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तले जानकारी दिनुभयो । यसवर्ष एसईई दिने ७४ जना विद्यार्थी रहेका छन् । २०८० सालको तुलनामा २०८१ सालमा धेरै विद्यार्थी उत्तीर्ण भएका थिए । २०८१ सालको परीक्षामा १ सय ५ जना विद्यार्थी सहभागी भएकोमा ३८ विद्यार्थी उत्तीर्ण भएका थिए । २०८० सालमा ८४ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा १४ जना उत्तीर्ण भएका थिए । २०८० सालमा एक विद्यालयको नतिजा शून्य आएकोमा २०८१ सालमा सुधार भएको थियो ।

थाहा नगरपालिकाका विद्यालयहरु आफैँले अतिरिक्त कक्षाहरु सञ्चालन गरिरहेका छन् । पालिकाभित्र रहेका ६ वटा संस्थागत र ११ वटा सामुदायिक विद्यालयबाट यस वर्षको एसईईमा ५३५ जना विद्यार्थी सहभागी हुने पालिकाको शिक्षा शाखा प्रमुख माधवविक्रम मल्लले जानकारी दिनुभयो । पालिकाको तर्फबाट यसवर्ष अतिरिक्त कक्षाका लागि कुनै पनि सहयोग नभएको प्रमुख मल्लले जानकारी दिनुभयो । कक्षा सञ्चालनका लागि केहि वडाहरुले विद्यालयलाई सहयोग उपलब्ध गराएका छन् । २०८० सालको तुलनामा २०८१ सालमा पालिकाको नतिजा सुधार भएको थियो । २०८० सालमा २७.४७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा २०८१ सालमा नतिजा सुधार गर्दै ४४.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

कैलाश गाउँपालिकाभित्र रहेका ६ वटा विद्यालयहरुले आफैँ अतिरिक्त कक्षाहरु सञ्चालन गरिरहेका छन् । पालिकाबाट यसवर्ष १५० जना विद्यार्थी एसईईमा सहभागी हुने भएका छन् । पालिकाका शिक्षा शाखा अधिकृत समिर जोशीका अनुसार विद्यालयबाट सहयोग माग भई आएको एक विद्यालयलाई विहानको खानाको व्यवस्था गरिदिएको छ । बाँकी विद्यालयले आफैँ कक्षाहरु सञ्चालन गरेको उहाँको भनाइ छ ।
२०८० सालको तुलनामा २०८१ सालममा राम्रो नतिजा आएको थियो । २०८० सालमा ५.५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए भने २ विद्यालयको नतिजा निल गएको थियो । २०८१ सालमा नतिजा सुधार गर्दै २३.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

मनहरी गाउँपालिकाका विद्यालयहरुमा एक महिने अतिरिक्त कक्षाहरु सञ्चालन हुनेछन् । पालिकाभित्र रहेको ९ वटा सामुदायिक र ३ वटा संस्थागत विद्यालयबाट ५५६ जना एसईईमा सहभागी हुने भएका छन् । २०८० सालको तुलनामा २०८१ सालमा नतिजा सुधार भएको पालिकाका शिक्षा शाखा प्रमुख प्रदिप पराजुलीले जानकारी दिनुभयो । २०८१ सालमा ३३.१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका थिए ।

मकवानपुरगढी गाउँपालिकाका १० वटा माध्यमिक विद्यालयमध्ये ९ वटा विद्यालयले बन्द प्रशिक्षणमा राखेर कक्षा सञ्चालन गरेको छ । एउटा विद्यालयले सामान्य पठपाठनमात्रै सञ्चालन गरेको छ । मकवानपुरगढी गाउँपालिका–४ स्थित मनकामना माविमा यसवर्ष १० कक्षामा ३ जनामात्रै विद्यार्थी अध्ययनरत भएकाले कक्षामात्रै सञ्चालन गरेको पालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलानले जानकारी दिनुभयो । यस वर्ष पालिकाबाट एसईईमा २९० जना विद्यार्थी सहभागी हुने भएका छन् । पालिकामा २०८० सालको तुलनामा २०८१ सालमा राम्रो नतिजा आएको थियो । २०८० सालको एसईईमा १५.३३ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए भने २०८१ सालमा ४३.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका थिए ।

हेटौँडा उपमहानगर
विद्यार्थी संख्या थाहा छैन, तयारी केही छैन

बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकाका विद्यालयबाट एसईई दिने विद्यार्थीको विवरण भने पालिकासँग छैन । उपमहानगरभित्रका विद्यालयमा अतिरिक्त पढाई भए, नभएको र कति विद्यार्थी अध्ययनरत छन् भन्ने तथ्यांक शिक्षा विकास महाशाखाले उपलब्ध गराउन सकेन । केहि महिनादेखि शिक्षा शाखा प्रमुख पद खाली रहेको र निमित्त प्रमुखले विद्यालयबारे केहि जानकारी नभएको बताएका छन् ।

मकवानपुरका ९ वटा पालिकाले तथ्यांक राख्दा हेटौँडासँग तथ्यांक नभएको बताइएको छ । शिक्षा महाशाखाका अधिकृत रमेश बिडारीले विद्यालयमा कसरी पठनपाठन भइरहेको छ, परीक्षाको तयारी कसरी चलेको छ र कति विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् भन्नेबारे थाहा नभएको बताउनुभयो । २०८१ सालको एसईईमा हेटौँडाका ४ वटा संस्थागत विद्यालयले शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएका थिए । हेटौँडा उपमहानगरमा २८ वटा सामुदायिक र २८ वटा संस्थागत माध्यमिक विद्यालय रहेका छन् ।

गत वर्ष मकवानपुरबाट २ हजार ७५९ जना विद्यार्थी उत्तीर्ण भएका थिए । परीक्षामा नियमिततर्फ ५ हजार ८८४ जना विद्यार्थी सहभागी भएका थिए । २०८० सालको तुलनामा २०८१ सालमा राम्रो नतिजा आए पनि मकवानपुरको बकैयाको २, राक्सिराङको ३, थाहाको १ र मनहरीको १ विद्यालयको नतिजा निल आएको थियो । यसवर्ष पनि समग्रमा राम्रो नतिजा आउने शिक्षा शाखा प्रमुखहरुको अपेक्षा रहेको बताउँछन् ।