हेटौँडाः महिलाहरूको सीप विकास, आत्मनिर्भरता अभिवृद्धि तथा स्वरोजगार प्रवद्र्धन गर्ने उद्देश्यले हेटौँडामा तीन महिने सिलाई कटाई तालिम सुरु भएको छ । रोटरी क्लब अफ हेटौँडाको पहलमा रोटरी क्लब अफ ईडमण्ड र अमेरिकाको सहयोगमा आइतबारदेखि तालिम सञ्चालन भएको हो ।
महिलाहरूलाई उद्यमशील बनाउने लक्ष्यका साथ सुरु गरिएको यस परियोजना अन्तर्गत १८ महिनाभित्र तीन चरणमा तालिम प्रदान गरिने रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष प्रमेश प्रधानले बताउनुभयो । प्रत्येक चरणमा ८/८ जनाको समूहलाई सहभागी गराइने र हाल पहिलो चरणमा ८ जना प्रशिक्षार्थीहरूका लागि आवासीय तालिम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । यस कार्यक्रमको स्थानीय आयोजकको रूपमा नारी संरक्षण केन्द्र रहेको छ ।
तालिमका प्रशिक्षक स्वस्थी राजथलाका अनुसार तीन महिनासम्म चल्ने यस तालिममा सहभागीहरूलाई कपडाको नापजाँच गर्ने, डिजाइन तयार पार्ने, सिलाई मेसिन सञ्चालन गर्ने र विभिन्न प्रकारका पोशाकहरू सिलाउनेलगायतका व्यवहारिक सीपहरू सिकाइनेछ । अध्यक्ष प्रधानले यस्ता सीपमूलक तालिमले महिलाहरूको आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । उहाँले तालिममा सिकेको ज्ञानलाई केवल प्रमाणपत्रमा मात्र सीमित नराखी व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रहसमेत गर्नुभयो ।











