हेटौंडाः मकवानपुरमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ५ सय नाघेको छ । शनिबार हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परीक्षणमा मकवानपुरका ८ जनामा कोरोना पुष्टि भएको थियो भने अन्य स्थानमा भएको परीक्षण समेत गरेर मकवानपुरमा १३ जनामा कोरोना पुष्टि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । यो सँगै मकवानपुरमा कुल कोरोना पुष्टि हुनेहरुको सङ्ख्या ५०४ जना पुगेको छ । यस्तै मकवानपुरमा हालसम्म कारोना सङ्क्रमित ५ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरस सङ्क्रमित हेटौंडा–५, सानोपोखराकी ४९ वर्षीया एक महिलाको शनिबार मृत्यु भएको छ । मिर्गौला रोगले पीडित समेत रहनुभएकी महिलाको शनिबार बिहान चितवनको शिक्षण अस्पताल (मेडिकल कलेज) मा मृत्यु भएको हो । कोभिड आइसियूमा उपचारको क्रममा उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ । डायलासिस गर्नका लागि साउन २७ गते चितवन मेडिकल कलेज लगिएको यिथो । उहाँको तीन पटकसम्म डायलाइसिस गरिएको अस्पतालले जनाएको छ । सोही क्रममा कोरोना परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
हेटौंडा–५, सानोपोखरा निवासी महिला हेटौंडा–१९, बस्तीपुरस्थित विद्यालयमा प्रावि द्वितीय श्रेणीको स्थायी शिक्षक तथा स्काउटको राष्ट्रिय प्रशिक्षक समेत हुनुहुन्थ्यो । यससँगै मकवानपुरमा कोरोना भाइरस सङक्रमित भई मृत्यु हुनेको सङख्या ५ पुगेको छ । हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १ मा एकजना पुरुष, वडा नम्बर ४ मा एकजना पुरुष, वडा नम्बर ५ मा एकजना महिला र वडा नम्बर १९ मा दुईजना महिलाको मृत्यु भएको र उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
हेटौंडामा शनिबार ८ जनामा कोरोना पुष्टि भएको छ । शनिबार ३ महिलासहित ४ जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । त्यस्तै जिल्ला बाहिरका हेटौंडामा बसोबास गर्ने १ जना र राक्सिराङ–८ का ३० वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको छ । भाद्र ९, १० र ११ गते संकलन गरिएको २९९ स्वाब नमूनाको परीक्षण गर्दा शनिबार ९ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु मध्ये कोरोना सङ्क्रमितको पुनः परीक्षण गर्दा ७ जनामा पुनः पोजेटिभ देखिएको छ भने २० जनाको परीक्षण गर्न बाँकी रहेको हेटौंडास्थित आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले जानकारी दिनुभयो । शनिबार परीक्षण भएका ४ जनाहरुको भने पुनः परीक्षण गर्न स्वाबको नमूना लिनुपर्ने भएको छ । शनिबार हेटौंडा अस्पतालका ४६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । ५० जनाको मध्ये ४६ जनाको रिपोर्ट नेगेटिभ आएको हो भने ४ जनाको परीक्षण प्रक्रियामा रहेको आइसोलेसन वार्डका जनस्वास्थ्य निरीक्षक चौलागाईले बताउनुभयो ।
शनिबार जिल्लामा १ सय १२ स्वाबको नमूना सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । शनिबार साँझ ५ बजेसम्म ३ सय ७६ स्वाबको नमूना परीक्षण भएको थियो । शनिबारसम्म मकवानपुरमा ७९ जना संस्थागत आइसोलेसनमा र १ सय ५१ जना होम आइसोलेसनमा बसेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो । मकवानपुर जिल्लामा शनिबार ३९ जना कोरोनामुक्त भएका छन् । यस्तै मकवानपुर जिल्लाबाट हालसम्म ५ हजार ३ सय ८० स्वाबको नमूना सङ्कलन भएको छ भने त्यसमध्ये ४ हजार ७ सय ६० स्वाबको नमूना परीक्षण भैसकेको अवस्था छ । शनिबार साँझसम्म मकवानपुरमा ४ सय ६२ जना आइसोलेसनमा बसेर उपचार गरेका मध्ये २२८ जना निको भएर घर फर्किएका छन् । यस्तै ८५४ जना मकवानपुरका विभिन्न क्वारेन्टिनमा बसेका जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।