तलब, सुविधाको माग गर्दै आन्दोलित निजी विद्यालयका शिक्षक कर्मचारी । फाइल तस्वीर ।

हेटौंडाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) मकवानपुरले अन्यायपूर्ण घोषणा गरेको भन्दै शनिबार जारी गरिएको विज्ञप्ति फिर्ता लिन संस्थागत विद्यालय शिक्षक यूनियन (इस्टु) ले प्याव्सन मकवानपुरलाई ३ दिनको अल्टिमेटम दिएको छ । शनिबार साँझ इस्टु जिल्ला समिति र हेटौंडा उपमहानगर समितिको संयुक्त बैठकले प्याव्सनलाई विज्ञप्ति फिर्ता लिन ३ दिनको अल्टिमेटम दिने निर्णय गरेको इस्टु हेटौंडा उपमहानगर समितिका अध्यक्ष सिएम रिमालले जानकारी दिनुभयो ।

इस्टुले विज्ञप्ति फिर्ता नलिए प्याव्सनको कार्यालयमा तालाबन्दी गर्नेदेखि थप रचनात्मक आन्दोलनको कार्य समेत गर्ने जनाएको छ । यसअघि इस्टु मकवानपुर र हेटौंडा उपमहानगर समितिले शिक्षकको पारिश्रमिक उपलब्ध गराउन स्थानीय तहदेखि बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलसम्मलाई ज्ञापनपत्र बुझाएको थियो । प्याव्सन मकवानपुरले शनिबार एक विज्ञप्ति जारी गर्दै निजी विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीहरुलाई भदौ महिनाबाट तलब सुविधा दिन नसक्ने जनाएको थियो । २०७६ सालको पूरै दायित्व र शैक्षिक सत्र २०७७ को भाद्र महिनासम्म केही उपलब्ध गराउँदै आएको भएपनि भाद्र महिनाबाट तलब सुविधा दिन नसक्ने जनाएको छ ।

शनिबार प्याव्सन मकवानपुरका कार्यबाहक अध्यक्ष विनोद सुवेदी र हेटौंडा उपमहानगर समितिका अध्यक्ष राजकुमार नहर्कीले संयुक्त रुपमा जारी गर्नुभएको प्रेस विज्ञप्तिमा विद्यालयहरुमा शुल्क तिर्ने वातावरण बनाउन, वैकल्पिक शिक्षालाई मान्यता दिन स्थानीय तह, अभिभावक, विद्यार्थी, नागरिक समाज एवम् सरोकारवालाहरुलाई आव्हान गरिएको छ । शूल्क तिर्ने वातावरण नबनेसम्म विद्यालयहरुले शिक्षक कर्मचारीको भार बहन गर्न नसकिने भन्दै सरोकारवालाहरुको ध्यानाकर्षण पनि गराएको छ ।
त्यस्तै विद्यालयहरुले सञ्चालन गरेको वैकल्पिक शिक्षण सिकाईलाई निरन्तरता दिन विद्यालयलाई आग्रह गर्दै शिक्षण गतिविधिमा आफ्ना बालबालिकाहरुलाई जोड्न अभिभावकहरुलाई आग्रह गरेको छ । प्याव्सनले जारी गरेको विज्ञप्तिमा नियमनकारी सरकारी निकायबाट शूल्क उठाउने सम्बन्धमा ठोस धारणा नआएको भन्दै विद्यालयहो आर्थिक भार बढ्दै गई थेग्न नसक्ने अवस्थामा पुगेको पनि जानकारी गराएको छ ।