श्री राजकुमार नहर्की
प्याव्सन नगर अध्यक्ष
हेटौंडा उपमहानगरपालिका, मकवानपुर
आक्कल झुक्कल हुने तपाइँको सार्वजनिक उपस्थिति हामीलाई अप्राकृतिक र अव्यवहारिक लाग्ने गर्छ । तपाइँद्वारा हस्ताक्षरित प्याव्सनको आजको विज्ञप्तिले फेरी अर्को त्यस्तै अनुभूति दिएको छ । कहिले कतिपय स्कुलले गर्दै गरेको अनलाईन कक्षा अरुले गर्न नसकेको बहाना देखाउँदै तत्काल बन्द गर्न उर्दी जारी गर्ने, कहिले सरकारलाई घुर्की लाउने बहानामा शिक्षक, कर्मचारीलाई बेतलबी बिदा भन्दै बेतालको सङ्ख फुक्ने त कहिले मकवानपुरमा असार महिनासम्ममा कुनै पनि स्कुलले अनलाईन कक्षा सञ्चालन गरेका छैनन्, यसैले काम नगरेको ज्याला दिन सकिँदैन भन्दै अपत्यारिलो मिडियाबाजी गर्ने तपाइँको स्वभावजन्य त्रुटिले हामीलाई आजित बनाएको छ । कर्मठ शिक्षक, कर्मचारीको मनोबल गिराउने गरी यस्तै–उस्तै क्रियाकलाप गरेर तपाइँले मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा प्याव्सनको नगर कमिटी राजकुमार नहर्कीको नेतृत्वमा भएको जानकारी गराउँदै आउनु भएको छ । नगर अध्यक्ष हुँ भन्ने जानकारी गराउनकै लागि यत्रो बिघ्न शैक्षिक अपराध नै गर्नुपर्ने आवश्यकता तपाइँलाई किन पर्छ ? हामी अचम्मित छौं ।
निजी शैक्षिक संस्थामा कार्यरत हामी शिक्षक कर्मचारीले पनि स्पष्ट बुझेका छौं कि कोरोना कहरको कारण आर्थिक अवस्था डामाडोल छ । शूल्कमा आधारित निजी शैक्षिक संस्थाले शूल्क उठाउन नपाएपछि आर्थिक व्यवस्थापनमा गम्भीर समस्या छ । यसैले कुनै पनि शिक्षक कर्मचारीले तत्काल सतप्रतिशत तलब सुविधा माग गर्नु भएको छैन । हाललाई घरको चुल्हो मात्रै बाल्ने गरी केहि प्रतिशत तलब सुविधा लिएर बाँकी बक्यौताको भुक्तानी आर्थिक अवस्था अनुकुल हुँदा भुक्तानी गर्ने गरी आर्थिक दायित्व विद्यालय सञ्चालकले लिँदा कतैबाट पनि आपत्ति आएको देखिँदैन । कार्यरत शिक्षक कर्मचारीको यो भन्दा ठूलो आर्थिक उदारता अर्को हुनै सक्दैन । आफू कार्यरत संस्थाप्रति देखाइएको यो उचाईको संस्थागत बफादारिता र पेशागत ईमान्दारिता माथि पनि थप कुठाराघात गर्ने गराउने प्रयास सदा सर्वदा अस्वीकार्य र निन्दनीय हुनेछ ।
२०७६ साल चैत्र महिनाको पहिलो हप्ताको अन्त्यतिर शुरु भएको लकडाउनको बहानामा सोहि वर्षको पुस, माघ महिनादेखिको तलब भत्ता रोकिनु र जिम्मेवार व्यक्ति मौन बस्नु आर्थिक अपराध हो कि होईन ? यो खालको समस्या मकवानपुर जिल्लामा छ । हेटौंडा नगर भित्रको मात्रै यथार्थ तथ्याङ्क हेर्दा १४ वटा स्कुलले २०७६ सालकै तलब भुक्तानी नगरेको स्पष्ट प्रमाण हामीसँग सुरक्षित छ । यी मध्ये धेरैको त तीन चार महिनाको तलब भुक्तानी नै बाँकी भएको अवस्था छ । यस्तो विकराल समस्यालाई नजर अन्दाज गर्दै तपाइँले कुन ग्रहको अध्ययन गर्नुभयो र भन्नु भयो कि २०७६ सालको सम्पूर्ण आर्थिक दायित्व भुक्तानी भयो । यदि तपाइँ तपाइँको आफ्नो निजी स्कुलको कुरो गर्दै हुनुहुन्छ भने सम्बन्धित सूचना तपाइँको सूचना पाटीमा टाँस्नुस्, यसमा हाम्रो आपत्ति छैन तर सार्वजनिक रुपमा यो तथ्यहिन प्रचारप्रसार गर्ने गराउने तपाइँको कुप्रयास माथि हामी खेद प्रकट गर्दछौं । साथै यस्तो कपोकल्पित, भ्रामक र जात्रामय सूचनाको विश्वास नगर्नु हुन र शिक्षक कर्मचारीका पेशागत हकाधिकारको पक्षमा बोलिदिनु हुन सम्पूर्ण सरोकारवाला वर्गहरुमा हार्दिक अपिल समेत गारिन्छ ।
केहि शिक्षक, कर्मचारीमैत्री विद्यालय सञ्चालकहरुले आफ्नो मानवीयता, नैतिकता, संस्थागत जिम्मेवारी र कानुनतः प्राप्त दायित्व बोध गर्दै यो विषम् परिस्थितिमा पनि ऋण–धन गरेरै भएपनि आर्थिक उत्तरदायित्व बहन गरिरहनु भएको छ । अहिलेलाई धेरथोर तलब निकासी गर्दै बक्यौता भुक्तानीमा आन्तरिक सहमति समेत गरेर शैक्षिक क्रियाकलाप निरन्तरता दिँदै आएका सम्बन्धित विद्यालय प्रशासन र सञ्चालकहरु धन्यवादका पात्र हुनुहुन्छ । उहाँहरुप्रति हामी हार्दिक आभार समेत व्यक्त गर्दछौं । प्रतिकुलतामा अनुकुलता खोजिरहेका स्कुलहरुको सकारात्मकताको अनुशरण गर्नु, गराउनुको साटो केन्द्रिकृतताको नाममा अनावश्यक पत्राचार बाजी गर्नु हानिकारक कुरो हो । यस्तो कार्यले कहिल्यै सुखद् नतिजा दिँदैन । वास्तविक सत्य तथ्य लुकाएर भ्रामक, अव्यवहारिक र एकपक्षीय रुपमा शिक्षक, कर्मचारीको पेशागत हक, अधिकार खोस्ने खालको निर्णयसहित मिति २०७७ साल भदौ १३ गते प्याव्सनबाट जारी विज्ञप्ति तत्काल फिर्ता गर्नुको अर्को विकल्प नभएको हामीले देखेका छौं र यसका लागि सबैखाले आन्दोलनको तयारी हुने नै छ ।
लामो समयसम्म यसैगरी शुल्कबिहिन अवस्था रहिरहेमा पूर्ववत् रुपमा निजी शैक्षिक संस्थाहरु चल्न नसक्ने भन्ने कुरो हामीले पनि अनुभुत गरेका छौं । जटिल समस्याको निराकरण गर्दै उचित निकास दिनु तत्काल जरुरी पनि छ । यसर्थ २०७६ सालको बक्यौता तलब, सुबिधा तत्काल निकासी र २०७७ साल भदौसम्मको सम्पूर्ण शिक्षक, कर्मचारीको तलब सुबिधा भुक्तानी बारे स्पष्ट सुनिश्चितता नगरिकन भदौ उप्रान्त भनिने कुनै पनि निर्णय मान्य हुने छैन । वैकल्पिक शिक्षणविधि अपनाएका स्कुलमा कार्यरत शिक्षक, कर्मचारी निरन्तर सेवारत नै हुनुहुन्छ भने जुनजुन स्कुलले वैकल्पिक शिक्षणविधि अपनाउन सकेनन् त्यहाँ कार्यरत शिक्षक, कर्मचारीहरु पनि स्वघोषित बिदामा बस्नु भएको होईन । यसर्थ पूर्ववत् खाई–पाई आएको सेवा, सुबिधाको निरन्तरता अपरिहार्य पाटो हो । यसबाट भाग्ने वा अन्यथा व्याख्या गर्ने अधिकार कसैलाई छैन । तथापि प्रत्येक निजी स्कुल विद्यमान ऐन, कानुन र प्रचलित मापदण्ड मातहतमा रहने गरी आफैँमा निर्णायक र स्वायत्त समेत हुने हुँदा महामारीले सिर्जना गरेको विषम् परिस्थितिमा आफ्ना शिक्षक, कर्मचारी राजीखुशी हुनेगरी आन्तरिक सहमति गर्दै शैक्षिक उत्तरदायित्व बहनमा अघि बढेको खण्डमा हाम्रो कुनै आपत्ति रहने छैन ।
अन्त्यमा, २०७६ सालको बक्यौता तलब, सुबिधा तत्काल निकासी र २०७७ साल भदौसम्मको सम्पूर्ण शिक्षक, कर्मचारीको तलब, सुबिधा भुक्तानी बारे स्पष्ट सुनिश्चितता गरी प्याव्सन नगर कमिटीले वार्ताको उपयुक्त ग्राउण्ड तयार पारेको अवस्थामा हामी वार्ताको माध्यमबाट निकास खोज्न सधै तयार छौं । जारी विज्ञप्तिमा भनिएको जस्तो भदौ उप्रान्त तलब शून्य रहनेगरी सेवाभावले पठनपाठनमा निरन्तरता दिन हामी किमार्थ तयार छैनौं । वार्ताको टेवलबाट सर्वपक्षीय छलफलले मानवीयता र व्यवहारिकताको आधारमा निकाल्ने निकासमा मात्रै हाम्रो सहमति र सहकार्य रहने छ ।
एसके निधन
समस्या समाधान तथा सम्बाद समिति –ईस्टू मकवानपुर
२०७७/०५/१३ गते