सांकेतिक तस्वीरः गुगल ।

हेटौंडाः कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरण गर्न भन्दै लकडाउन र निषेधाज्ञा लागू गरिँदा विपन्न परिवारलाई खाद्यान्नको समयमा हुन सक्नेतर्फ ध्यान दिँदै मकवानपुरमा पनि ‘फुड बैंक’ सञ्चालन गरिने भएको छ । मदन भण्डारी फाउण्डेसन मकवानपुरले हेटौंडामा ‘फुड बैंक’ अभियान सञ्चालन गर्ने भएको छ ।

फाउण्डेशनले पर्सी सोमबारदेखि हेटौंडाको अटोल्याण्ड चोकमा ‘फुड बैंक’ सञ्चालन गर्न लागेको फाउण्डेसनका जिल्ला अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । कोरोना भाइरसका कारण उत्पन्न भएको आर्थिक सङ्कटले धेरैको बिहान–बेलुकाको हातमुख जोर्ने माध्यम गुमेका न्यून आय भएका परिवारलाई लक्षित गरेर फुड बैंक अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । फाउण्डेसनले सोमबारबाट ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ भन्ने अभियान सुरु गर्न लागेको उहाँले बताउनुभयो । फाउण्डेसनले सामाजिक उत्तरदायित्व स्वरुप यस्तो अभियान सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो । यसका साथै अभियानले आवश्यकताका आधारमा जिल्लामा सञ्चालनमा रहेका आइसोलेसन, क्वारेन्टिन, बृद्धाश्रमहरुमा समेत सहयोग गर्नेछ ।

आज बिहान बसेको फाउण्डेसनको बैठकले पहिलो चरणमा हेटौंडाबाट अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । उक्त अभियान अन्तर्गत कोरोनाका कारण छाक बसेका नागरिकलाई परिवार सङ्ख्याको आधारमा सहयोग उपलब्ध गराइने छ । त्यस्ता परिवारले एक पटकमा एक छाक टर्ने गरी दाल, चामल, नुन, तेललगायत खाद्यान्न उपलब्ध गराइने प्रमुख खुलालले बताउनुभयो । फुड बैंक सञ्चालनका लागि आजको बैठकले ५ सदस्य फुड बैंक व्यवस्थापन उपसमिति निर्माण गरेको छ । फाउण्डेसनका सदस्य उत्तम न्यौपानेको संयोजकत्वमा बोल बहादुर कार्की, रमिला सापकोटा, शिवहरी दाहाल, भवानी शर्मा सदस्य रहनुभएको ५ सदस्य समिति गठन गरिएको छ । उक्त समितिले कार्यविधि समेत तयार गरेर काम सुरु गर्ने उहाँले बताउनुभयो ।