समापन समारोहमा सहभागी अतिथिहरु ।

हेटौँडा : हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको वाार्षिक अतिरिक्त तथा खेलकुद कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ र १२ विज्ञान विषय प्रवद्र्धन अन्तर्गत आयोजना गरिएको अतिरिक्त तथा खेलकुद प्रतियोगिता बुधबार सम्पन्न भएको विद्यालयको दश जोड दुई तहका संयोजक राजाराम पोखरेलले जानकारी दिनुभयो ।

माघ २ गतेदेखि सुरु भएको खेलकुद कार्यक्रम बुधबार सम्पन्न भएको हो । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत १ सय ८० जना विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए । विद्यालयले फुटबल, क्रिकेट, हाजिरीजवाफ, वक्तृत्वकला र भलिबल प्रतियोगिता आयोजना गरेको थियो । भलिबल प्रतियोगितामा छात्रतर्फ कक्षा १२ व्यवस्थापन संकाय प्रथम र कक्षा ११ विज्ञान संकाय द्वितीय भएका छन् भने छात्रातर्फ कक्षा १२ विज्ञान संकाय प्रथम र कक्षा ९ द्वितीय भएका छन् । क्रिकेट प्रतियोगितामा कक्षा ११ व्यवस्थापन संकाय प्रथम र विज्ञान संकाय द्वितीय, फुटबल प्रतियोगितामा कक्षा ११ विज्ञान संकाय प्रथम र कक्षा १२ विज्ञान संकाय द्वितीय भएको हो ।

वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ विज्ञान संकायकी आरोही पाल अधिकारी र अंकिता पराजुली क्रमशः प्रथम र द्वितीय र कक्षा ११ व्यवस्थापन संकायकी अफ्रिना खातुन तृतीय भएकी छिन् । हाजिरीजवाफ प्रतियोगितामा कक्षा १२ विज्ञान संकायका भिम प्रसाद शर्मा, साहिल कुशवाह र अंकिता पराजुलीको समूह प्रथम र कक्षा १२ व्यवस्थापन संकायका सन्देश लम्साल, अपिल पराजुली र साहिद अक्रम अंसारीको समूह द्वितीय भएको हो । प्रतियोगिताका विजेताहरुले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

भलिबल प्रतियोगितामा छात्रतर्फ कक्षा १२ व्यवस्थापन संकायका प्रयास थिङ र कक्षा १२ विज्ञान संकायकी रचना चौलागाई उत्कृष्ट खेलाडी घोषित भएका छन् । यस्तै फुटबल प्रतियोगितामा कक्षा ११ विज्ञान संकायका सुशान्त श्रेष्ठ र क्रिकेट प्रतियोगितामा कक्षा १२ व्यवस्थापन संकाय सुनिल कुमार साह उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा सर्वोत्कृष्ट छानिएका खेलाडीहरुले ट्रफी प्राप्त गरेका छन् । फुटबल र क्रिकेट प्रतियोगिता छात्राहरुले सहभागिता नजनाएको संयोजक पोखरेलले बताउनुभयो ।

समापन समारोहका प्रमुख अतिथि हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलले प्रतियोगितामा सहभागी खेलाडीहरुमध्ये नेपाललाई विश्वमा चिनाउने खेलाडी बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । आधुनिक माविको पूर्वपट्टी रहेको भुटनदेवी माध्यमिक विद्यालयको खेल मैदानलाई सबै विद्यालयले प्रयोग गर्नेगरी बहुउद्देश्यीय खेलमैदानको रुपमा विकास गरिने भएकाले विद्यालयलाई अब खेल मैदानको खाँचो नहुने उहाँले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महमद समीमको अध्यक्षतामा भएको समापन समारोहमा विशिष्ट अतिथि हेटौँडा–४ का वडा सदस्य गीता त्रिपाठी र हेटौँडा उपमहानगरपालिका शिक्षा विकास महाशाखा प्रमुख हरिचन्द्र सापकोटा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।