हेटौँडा : गीतकार किरण खरेललाई बिजुलीमाया व:न श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार प्रदान गरिएको छ। भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले हेटौँडामा बिहीबार एक समारोहबीच एक लाख रुपैयाँ नगदसहित खरेललाई पुरस्कार प्रदान गरिएको हो।
हेटौँडाका व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले आमा जीवितै रहनुहुँदा २०६४ सालबाट पुरस्कार सौजन्य गर्दै आउनुभएको छ। खरेललाई प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले सम्मानपत्र प्रदान गर्नुभयो।
अमर गुरुङलाई पहिलो पटक प्रदान गरिएको पुरस्कार क्रमशः प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, नाट्यश्वर संगीत प्रशिक्षण केन्द्र, मीरा राणा, कर्म योञ्जन, चेतन कार्की, दावा ग्याल्मो, दीपक जंगम, डा. किरण प्रधान, राजेन्द्र थापा र नीर शाहलाई प्रदान गरिएको छ।











