सामाजिक सञ्जालमा एल्गोरिदम भनेको वास्तवमा एउटा ‘नियमहरूको सेट’ वा ‘गणितीय सूत्र’ हो, जसले तपाईँलाई कुन पोस्ट देखाउने र कुन नदेखाउने भन्ने निर्णय गर्छ । यसलाई सजिलो भाषामा बुझ्दा, यो एउटा यस्तो ‘सिस्टम’ हो जसले तपाईँको रुचि, व्यवहार र गतिविधि अनुसार तपाईँको ‘फिड’ लाई सजाउँछ ।
यही माघी सङ्क्रान्ति अर्थात् माघ १ गते म मामाघर जाने योजना अनुरूप म मामाघरतिर लागेँ । मामाघर जानुको केही स्वार्थ मध्ये ७५ वर्षको हजुरआमा झन्डै ८० वर्षको हजुरबुबासँग आशीर्वाद साथै भलाकुसारी नै थियो । जहाँ रुपैयाँ भन्दा अघि चलनचल्तीमा रहेका पैसा, मोर, टाङ, क्या लगायतका रूपैयाँहरूको नाम नामनमेसी सँगै विनिमयमा कत्ति फरक थियो त्यो समयमा भन्दै हजुरबुबा बत्ताउँदै हुनुहुन्थ्यो त्यो मेरा लागि एक इतिहासको किताब अध्ययन झैँ भइरहेको थियो ।
प्रसंगवश जनजी आन्दोलनमा भएकाका धनजनको क्षतिका विषय प्रवेश भयो । हजुरबुवा हिजो आजको सामाजिक सञ्जाल खासै चलाउनु हुन्न त्यही टिभि र रेडियो भन्दा बाहेक समाचारको स्रोत उहाँमा छैन । राज्यप्रति उहाँको कृतज्ञता देखेर म निशव्द भइरहेँ । हजुरबुवा बताउँदै हुनुहुन्थ्यो मेरो बुबा आकाशमा उड्ने हवाईजहाज नदेखी बित्नु भो, मैले पहिलो पटक देख्दा ३÷४ दिन त मेरो उत्सुक्तामै दिन बित्यो । बिस्तारै यातायात, सडक, विद्युत् हुँदै अहिलेको यो विकास देखेँ, जो मेरो हिजो ढुङ्गे युगको जस्तो जीवनबाट आधुनिक जीवनयापनसम्म देखे जो मेरो कल्पना भन्दा बढी हो ।
म सुनिरहेकै थिएँ हजुरबुबाले भन्दै हुनुहुन्थ्यो नेपाल सरकारले हाम्रा लागि कत्ति ग¥यो, यत्ति सानो बस्तीमा पनि करोडौँको पक्की पुल राखिदियो, वर्षेनी ग्रामीण सडक सरसफाई तथा स्तरोन्नति गरिनै रह्यो, म त्यो मान्छे जो आधा जीवन टुकीबत्तीमै जिउँदै थिएँ । आज झिलिमिली बत्ती, म सुन्छु, नातानातिहरूलाई पनि गाउँमा भएको विद्यालयले दिवा खाजा–नास्ता किताब सबैको व्यवस्था मिलाइदिन्छ अरे ! म हस्पिटल जाँदा वृद्धहरू भनेर स्वास्थ्यमा समेत केही सहुलियत/छुट रहेछ, उहाँ भन्दै हुनुहुन्थ्यो हामीले त सरकारलाई के नै पो दिन सकिन्छ र त्यो पाखा भीरको एक चोक्टा जमिनको तिरो त हो । आजसम्म म आफ्नो काम आफैं गरी नै रहेको छु । हजुरबुबा पट्याउली शैलीमा भन्दै हुनुहुन्थ्यो बिना लगानी पेन्सन झैँ भत्ता खाइरहेको छु । नेपाल सरकारलाई धन्यवाद । म चकित भएँ, हजुरबुवामा कत्ति धेरै सकारात्मक सोच रहेछ भनेर । सायद हिजोआजको उग्र सामाजिक सञ्जाल हजुरबुबाले पनि हेरिरहनु भएको भए सायद यो सकारात्मक सोच कतै अलि कमि पो हुन्थ्यो कि भनेर मेरो मनमा शंकाको पाप एकछिन जाग्यो अनि सम्झेँ एल्गोरिदमलाई ।
एल्गोरिदम कुनै एउटा कुराले मात्र बनेको हुँदैन । यसले हजारौं साना–साना डेटा पोइन्टहरूलाई विश्लेषण गर्ने गर्दछ । जस्तैः
– प्रयोगकर्ताको रुचि : तपाईँले कस्ता फोटो लाइक गर्नुहुन्छ ? कस्ता भिडियो पूरा हेर्नुहुन्छ ?
– सम्बन्ध : तपाईँ कुन साथी वा पेजसँग बढी अन्तरक्रिया (कमेन्ट÷मेसेज) गर्नुहुन्छ ?
– समय : नयाँ पोस्टहरूलाई प्राथमिकता दिइन्छ ।
– अन्तरक्रिया : जुन पोस्टमा धेरै सेयर, कमेन्ट र रियाक्सन हुन्छ, त्यसलाई एल्गोरिदमले धेरै मानिससम्म पु¥याउँछ ।
हामीले यो पनि बुझ्नु छ कि एल्गोरिदम आफैंमा नराम्रो होइन, तर यसलाई विभिन्न स्वार्थका लागि कमजोर नियमकको फाइदा लिई दुरुपयोग गर्न सकिन्छ। जस्तै ः
– गलत सूचना र प्रोपागान्डा : एल्गोरिदमले धेरै ‘इन्गेजमेन्ट’ हुने सामग्रीलाई बढवा दिन्छ । प्रायः उत्तेजक, डर पैदा गर्ने वा झुटो समाचारहरू छिटो भाइरल हुन्छन् । यसको फाइदा उठाएर राजनीतिक वा सामाजिक अस्थिरता फैलाउन सकिन्छ ।
– इको च्यामबर : एल्गोरिदमले तपाईँलाई त्यही कुरा मात्र देखाउँछ जुन तपाईँलाई मन पर्छ । यसले गर्दा मानिसहरूले फरक विचार सुन्नै पाउँदैनन् र उनीहरूको सोच पनि झन् बढी कट्टर बन्दै जान्छ ।
– लत लगाउने डिजाइन : कम्पनीहरूले एल्गोरिदमलाई यस्तो बनाउँछन् कि तपाईँ धेरैभन्दा धेरै समय एपमै बिताइदिउन् जसले तपाईलाई मानसिक स्वास्थ्यमा समेत असर पार्न सक्छ ।
– डेटा गोपनीयता र हेरफेर : मानिसहरूको कमजोरी र मनोविज्ञान बुझेर उनीहरूलाई विज्ञापन वा विशेष एजेन्डामार्फत ‘मनिपुलेट’ गर्न सकिन्छ ।
– क्लिकबेट : भ्रामक हेडलाइन राखेर मानिसहरूलाई आकर्षित गर्ने र गलत जानकारी दिने काममा पनि यसको दुरुपयोग हुन्छ ।
यस्ता भ्रमहरूबाट हामी सुरक्षित कसरी रहने ?
– सबै कुरामा आँखा चिम्लेर विश्वास नगर्ने ।
– विभिन्न विचार व्यक्त गर्ने व्यक्ति वा पेजहरूलाई फलो गर्ने ।
– एकै प्रकृतिका विचार व्यक्त गर्ने व्यक्ति वा पेजहरूलाई फलो नगर्ने ।
– धेरै उत्तेजक समाचार छ भने त्यसको आधिकारिकता जाँच गर्ने ।
– हजुर बुबाको झैँ सोच राख्न उत्कट इच्छा गर्ने ।










