हेटौँडा : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता २०८२ का लागि मकवानपुर जिल्लास्तरीय पुरुष खेलाडी छनोट प्रारम्भिक चरण पूरा भएको छ । प्रारम्भिक छनोटबाट २४ जना खेलाडी छानिएको मकवानपुर जिल्ला क्रिकेट संघका सदस्य एवम् कार्यक्रम संयोजक संजोग पोखरेलले जानकारी दिनुभयो ।

माघ ४ गतेदेखि हेटौँडा–४ स्थित हुप्रचौरमा मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा खेलाडी छनोट प्रारम्भिक चरण सुरु भएको थियो । यस वर्ष जिल्लास्तरीय छनोटका लागि ५६ जना खेलाडीले आवेदन दिएका थिए । आवेदन दिएका खेलाडीहरूलाई ४ वटा टिममा विभाजन गरी छनोट खेलको आयोजना गरिएको थियो । छनोट प्रक्रिया अन्तर्गत प्रत्येक टिमलाई एकअर्कासँग एकदिवसीय अभ्यास खेल खेलाइएको संयोजक पोखरेलले जानकारी दिनुभयो । अभ्यास खेलको प्रदर्शनका आधारमा सुरुमा २४ जना खेलाडीलाई छनोट गरिएको छ ।

प्रारम्भिक चरणको छनोटबाट शुभ कंशाकार, गोकुल अधिकारी, युविन बुढाथोकी, सुमन सुनार, सक्षम बास्ताकोटी, शिवशक्ति महतो र इरफान नदफ छनोट भएका छन् । यसैगरी विशाल फुयाल, रोहित ठाकुर, रिजन ढकाल, अशिम श्रेष्ठ, साकार गजुरेल, रविन कुमार शर्मा, स्वरुप श्रेष्ठ, रोहित विष्ट, अहमद राजा, मनिक संजेल, निमा थोकर, तक्षक सिम्खडा, जमल रैन, विशेषविक्रम थापा, आदित्य पटेल, नवि आलम र नविन नेपाली छनोट भएका छन् । अब दास्रो चरणको छनोटमा पहिलो छनोट चरणमा छनोट भएकाहरुलाई २ वटा टिम बाँडेर उनीहरुका बीचमा २ वटा अभ्यास खेल खेलाइने संयोजक पोखरेलले बताउनु भयो । त्यसपछि प्रदर्शनका आधारमा उत्कृष्ट १४ जना खेलाडीलाई बागमती प्रदेशस्तरीय छनोटमा पठाइने छ भने ४ जनालाई वैकल्पिक खेलाडीको रुपमा राख्ने उहाँको भनाइ छ ।

नेपाल क्रिकेट संघ (क्यान) बाट आधिकारिकता पाएका बागमती प्रदेशका ६ वटा जिल्लाहरू (मकवानपुर, चितवन, नुवाकोट, ललितपुर, भक्तपुर र काठमाडौं) र एउटा त्रिभुवन विश्वविद्यालयको टिम गरी ७ वटा टिमका बीच प्रदेशस्तरीय छनोट प्रतियोगिता हुनेछ । २०८१ सालको प्रदेशस्तरीय छनोट प्रतियोगितामा मकवानपुर उपविजेता बनेको थियो । फाइनल खेलमा ललितपुरसँग पराजित भए पनि मकवानपुरका ५ जना खेलाडी प्रदेश टोलीमा पर्न सफल भएका थिए । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक कार्यतालिकामा पुरुषतर्फको प्रधानमन्त्री कप प्रतियोगिता मार्चमा हुने उल्लेख छ ।