लालझाडीमा कोरिएका चित्रको साथमा चित्रकार युवाको टोली ।

हेटौँडा : हेटौँडाका एक चित्रकार युवाको टोली शनिबार गाउँ पुगे । पहाडी गाउँमा पुगेर सुन्दर वनको पृष्ठभूमिमा फुलिरहेका फापरका कान्लाहरु नियाल्दै बिहानभर चित्रमा गाउँलाई उतारे, अनि चित्रमा गाउँ नै लिएर फर्किए । शनिबार हेटौँडा–१, लालझाडी पुगे । उनीहरुले त्यहाँ फुलेका फापर र तोरीका खेतसहित प्राकृतिक दृश्य र ग्रामीण घरहरुलाई चित्रण गरेका छन् । सिङ्गो गाउँकै झल्को आउने गरी चित्रण गरेका हुन् ।

हेटौँडामा विगत ४ वर्षदेखि यसरी नै हरेक शनिबार निरन्तर शनिबारीय स्थलगत चित्रकला कार्यशाला सञ्चालन हुँदै आएको छ । शनिबारीय स्थलगत कला कार्यशाला अभियान मकवानपुर शाखाका प्रमुख सुजन राईका अनुसार नेपालमा यसको सुरुवात ७ वर्ष अगाडि काठमाडौँबाट भए पनि हेटौँडामा ४ वर्ष अगाडिमात्रै यो अभियान सुरु भएको हो ।

कोठाको सानो स्टुडियोमा सीमित कलाकारलाई प्रकृतिको खुला आकाश मुनि ल्याउने, प्राकृतिक सम्पदा, मूर्त–अमूर्त सम्पदाजस्ता विषयमा कला सृजनामा प्रोत्साहित गर्ने र नेपाली कलालाई नयाँ उचाई दिने उद्देश्यले ७ वर्ष अगाडि शनिवारीय स्थलगत कला कार्यशाला अभियान भन्ने संस्थाले यो कार्यको थालनी काठमाडौँबाट गरेको हो । अभियान अन्तर्गत चित्रकला क्षेत्रमा रुचि राख्ने कलाकारहरुले आवश्यक कलम, रङ र क्यान्भास बोकी कुनै एक निश्चित सम्पदा एवम् प्राकृतिक क्षेत्रमा गई चित्र कोर्ने गर्दछन् ।

प्रत्येक शनिवार अभियानमा सहभागी हुन सामाजिक सञ्जालबाट खुलारुपमा आह्वान गर्ने गरिएको शाखा प्रमुख राईले बताउनु भयो । रुचि राख्ने व्यक्तिहरु निःशुल्करुपमा अभियानमा सहभागी हुन पाउँछन् । यसबाट धार्मिक तथा प्राकृतिक सम्पदाहरुको प्रचारप्रसार हुनुका साथै स्थानीय कलाको प्रोत्साहन हुने गरेको छ । यस अभियानबाट चित्रलेखनमा रुचि भएका नयाँ–नयाँ कलाकारहरुले सिक्ने मौका पाएका छन् भने कतिपयले यसको माध्यमबाट रोजगारी पनि पाएका छन् । शाखा प्रमुख राईका अनुसार यस अभियानमा जोडिएका मकवानपुरका १५ जना कलाकारहरु अहिले विभिन्न विद्यालयमा कला शिक्षकका रुपमा कार्यरत छन् ।

शनिबारीय स्थलगत कला कार्यशाला अभियान मकवानपुर शाखाले गत वर्ष दुई दिने हेटौँडा चित्रकला महोत्सव पनि आयोजना गरेको थियो । उक्त महोत्सवमा काठमाडौँ, ललितपुरलगायतका बाह्य जिल्लाहरुबाट ३५ जना र मकवानपुरका २० जना कलाकारहरुले हेटौँडाका विभिन्न धार्मिक तथा पर्यटकीय ठाउँहरुको चित्रण प्रस्तुत गरेका थिए । पछिल्लो समय स्वदेशीमात्र नभई विदेशी कलाकारहरु पनि अभियानमा जोडिन थालेका छन् ।

मकवानपुरमा शाखा प्रमुख सुजन राईको नेतृत्वमा प्रत्येक शनिबार १५ देखि २० जना कलाकारहरुको समूह हेटौँडा वरपरका क्षेत्रमा पुग्ने गरेका छन् । आर्थिक अभावका कारण टाढा पुग्न नसकेको शाखा प्रमुख राईले बताउनु भयो । शाखा प्रमुख राईका अनुसार प्रदेश सरकारको नीति तथा योजनामा लेखिए पनि अभियानले प्रदेश सरकार तथा स्थानीय सरकारबाट कुनै सहयोग पाएको छैन । रोट्रायक क्लब अफ मकवानपुरको सहयोग तथा कलाकारहरुको आफ्नै खर्चमा अहिले अभियान चलिरहेको छ । कलाकारहरुले बनाएको चित्र बजारमा बिक्री हुँदा त्यहाँबाट केहि आम्दानी प्राप्त हुने गरेको छ ।