पदस्थापन समारोहमा अध्यक्षको चेन हस्तान्तरण गरिँदै।

हेटौँडा : मकवानपुरको पश्चिमक्षेत्रलाई कार्यक्षेत्र बनाई स्थापना भएको चैनपुर जेसीज मनहरीको अध्यक्षमा सुरेश गौतम पदस्थापित हुनुभएको छ । शनिबार मनहरी–४ स्थित गोलघरमा पदस्थापन समारोह भएको हो । वर्ष २०२५ का अध्यक्ष श्रीकृष्ण ढकालको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यमा पदस्थापन कार्यक्रम भएको हो ।

चैनपुर जेसीज मनहरीको कार्यकारिणी उपाध्यक्षमा नवराज रिजाल र राजु सुवेदी तथा उपाध्यक्षमा मनोज चौलागाईं, सुरज ढुंगाना, पुष्कर रेग्मी र सन्तोष ढकाल पदस्थापित हुनुभएको छ । संस्थापक अध्यक्ष गणेश दर्पण अधिकारी, नेपाल जेसीजकी कार्यकारिणी उपाध्यक्ष स्पप्न पौडेलको उपस्थितिमा पदस्थापन पश्चात अध्यक्ष गौतमले महासचिवमा सुदीप तिमल्सिना, कोषाध्यक्षमा बालकृष्ण विष्ट, कानूनी सल्लाहकार विवेकानन्द न्यौपाने र शाखा सम्पादकमा हरि अधिकारीलाई मनोनित गर्नुभयो ।

यसैबीच चैनपुर जेसीज मनहरीका अध्यक्ष श्रीकृष्ण ढकालका बुबा तथा मनहरीका चर्चित गुरु माधवप्रसाद ढकालको स्मृतिमा स्थापना गरिएको ‘माधवप्रसाद ढकाल स्मृति चैनपुर जेसीज पत्रकारिता पुरस्कार–२०८२’ बाट समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठलाई सम्मान गरिएको छ । नगद १० हजार रुपैयाँसहित सम्पादक श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

यस्तै चैनपुर जेसीज मनहरीका संस्थापक अध्यक्ष गणेश दर्पण अधिकारीले भाइ सुरेन्द्र अधिकारीको स्मृति शैक्षिक पुरस्कार प्रदान गर्नुभएको छ । २०८१ सालको एसईईमा पालिकामै सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतीजा हासिल गर्ने लक्ष्मी लामिछानेलाई १० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो । लामिछाने मनहरी–१ स्थित बालजीवन ज्योति माविबाट एसईई उत्तीर्ण हुनुभएको हो । पदस्थापन समारोहमा मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी, वडाध्यक्ष प्रकाश थापा, दिपेन्द्र अधिकारीको पनि आतिथ्य रहेको थियो ।