सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको दुई जिल्लामा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन र सिन्धुली जिल्लामा दुई जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१ नारायणीस्थित नारायणी नदीमा हाम फालेका एक युवक मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेम भरतपुर महानगरपालिका–२९ का २८ वर्षीय सुदिप थापा मगर रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार अपराह्न ४ बजेर ३० मिनेटको समयमा सुदिप नारायणी नदी किनारमा रहेको महोत्सव परिसरभित्रबाट अचानक दौडिँदै गई नदीमा हाम फालेका थिए । उनलाई खोजतलास गर्दै जाँदा शुक्रबार दिउँसो १२ बजेर ५० मिनेटको समयमा मगरको शव फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ तारेभीर नजिक रुखबाट लडेर घाइते भएका वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ वर्षीय मंगले वाइबा रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार बिहान ८ बजेको समयमा वाइबा घाँस काट्न गएका थिए । लामो समयसम्म घर नफर्किएपछि स्थानीय आफन्तले खोजतलास गर्दै जाँदा घरदेखि ५ सय मिटर पर आफ्नै खेतमा रहेको कुटमेरोको रुखबाट लडेर अचेत अवस्थामा बिहीबार दिउँसो ३ बजेको समयमा फेला पारेका थिए । घाइते वाइबालाई उपचारका लागि बस्तीपुर स्वास्थ्य चौकी लगिएकोमा सामान्य उपचार पश्चात थप उपचारका जिल्ला अस्पताल सिन्धुली हुँदै काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो । उपचार सम्भव नभएको भन्दै अस्पतालले फर्काएकोमा शुक्रबार बिहान ७ बजेको समयमा आफ्नै घरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।