हेटौँडा : हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोह सम्पन्न भएको छ । पुस २६ गतेदेखि विविध कार्यक्रम गरेको प्रगति माध्यमिक विद्यालयले गत मंगलबार स्वर्ण महोत्सवको औपचारिक उद्घाटन गरेको थियो । मंगलबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गर्नुभएको स्वर्ण महोत्सव समारोह शुक्रबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले समापन गर्नुभयो ।
समापनको अवसरमा विद्यालयले विद्यालयकी संस्थापक प्रधानाध्यापक राधादेवी शाहको शालिक अनावरण गरेको छ । यस्तै विद्यालयले स्मारिका पनि प्रकाशन गरेको छ । स्वर्ण महोत्सवको उद्घाटनको अवसरमा विद्यालयले विद्यालय गान सार्वजनिक गरेको थियो । समापनको अवसरमा विद्यालयका पूर्वशिक्षक, कर्मचारी, पूर्वविद्यार्थीलाई सम्मान समेत गरेको छ । विद्यालयले पूर्वविद्यार्थीबाट, शिक्षक, सहयोगीबाट झण्डै ६० लाख रुपैयाँ सहयोग संकलन गरेको छ । समापनको अवसरमा समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठलाई पनि सम्मान गरेको छ ।
५० वर्षको अवधिमा प्रगति माध्यमिक विद्यालयले समुदायमा महत्वपूर्ण योगदान पुर्याएको प्रधानाध्यापक किशोर पराजुलीले बताउनुभयो । १८ वर्षदेखि प्रगति माध्यमिक विद्यालयमा अध्यापन गर्दै आउनुभएको र एक वर्षदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हालिरहनुभएका पराजुलीले आगामी दिनमा पनि विद्यालयले समुदायमा समयानुकुल योगदान पु¥याउने बताउनुभयो । विद्यालयकी सामाजिक विषयकी शिक्षक नम्रता मैनालीले स्वर्ण महोत्सव मनाउँदै गर्दा समुदायको विश्वास थप बढाउन सफल भएको बताउनुहुन्छ ।
२०५० सालमा एसएलसी उत्तीर्ण गर्नुभएका कलाकार, गीतकार, गायक चेतन सापकोटाले त पूर्वविद्यार्थी तथा साहित्यकार बिना थिङको शब्द रचनामा स्वर्ण महोत्सवको अवसरमा विद्यालय गीत नै तयार पारेर समापन समारोहमा आफ्ना साथीहरुसँग स्टेजमा शिक्षकहरुलाई नचाउनुभयो । एसएलसी उत्तीर्ण गरेको ३२ वर्षपछि विद्यालयको स्वर्ण महोत्सवमा रमाउँदै गर्नुभएका सापकोटाले विद्यालयमा फर्केर रमाउन पाउँदा खुसी लागेको स्पष्ट पार्नुभयो । २०६४ सालमा एसएलसी उत्तीर्ण गर्नुभएका रामचन्द्र नेपालले विद्यालयलाई आज यो अवस्थासम्म ल्याउने हरेक व्यक्तिलाई सम्झेको छ, एसएलसी उत्तीर्ण भएका ३ हजार ६ सय भन्दा बढी विद्यार्थीलाई स्मरण गर्नु महत्वपूर्ण भएको बताउनुहुन्छ । हिजोका दिनमा विद्यालयमा रहेका सबैले विद्यालयलाई फर्केर सहयोग गर्ने अवसर समेत स्वर्ण महोत्सव भएको उहाँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछानेले स्वर्ण महोत्सवलाई ऐतिहासिक र सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । स्वर्ण महोत्सवको अवसरमा विद्यालयले जिल्लास्तरीय शिक्षक सम्मेलन, विद्यार्थीहरुमा पठन संस्कृति विषयक बहस आयोजना गरेको थियो । यस्तै स्वर्ण महोत्सवको अवसरमा विद्यार्थीले शैक्षिक प्रदर्शनी, विज्ञान प्रदर्शनीको समेत आयोजना गरेको थियो । उद्घाटन तथा समापन समारोहमा विद्यार्थीले नृत्य तथा गायन कला प्रस्तुत गरेका थिए । १२ कक्षासम्म पठनपाठन हुने प्रगति माध्यमिक विद्यालयमा १ हजार ४ सय ७५ जना विद्यार्थी अध्ययनरत छन् ।











