नेपाली कांग्रेसको विशेष महाधिवेशले तरंगित मुलुकको राष्ट्रिय राजनीति गगन थापाको नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले वैधता दिएसँगै नयाँ चरणमा प्रवेश गरेको छ । हामीले बिर्सनु हुँदैन गत भदौ २३–२४ को जेन्जी आन्दोलनपछि नेपाली कांग्रेसभित्र नीति, नेतृत्व र पुस्तान्तरणको बहस ऐतिहासिक मोडमा प्रवेश गरेको थियो । विशेषत आन्दोलनपछिको मनोविज्ञानले पुरानो संरचनालाई चुनौती दियो र नयाँ पुस्ताले नेतृत्व परिवर्तन मात्र होइन, संगठनको नयाँ मार्गदर्शनको सवाल उठायो । यही बहसले अन्ततः विशेष महाधिवेशनको माग प्रबल बन्यो, परिवर्तनले खोजेको दिशातर्फ जान शेरवहादुर पक्ष तयार हुनै सकेन् । जेन्जि आन्दोलनमा जेन्जिको आक्रमणमा परेका देउवा दम्पति अब सक्रिय राजनीतिबाट सन्यास लिनेछन भन्ठानेहरू त्यतिबेला चकित भए जब केपिले संसद पूर्नस्थापनामा देउवालाई सहमत गराए र प्रधानमन्त्रिको लोभ दिए आन्दोलनको रापताप सेलाउदै गएपछि शेरबहादुर पक्षले विशेष महाधिवेश बोलाउन अस्विकार गर्दै निर्वाचन पछि नियमित महाधिवेश गर्ने कार्यतालिका ल्यायो । तर गगन थापा विश्वप्रकासहरू वर्तमान नेतृत्व बोकेर निर्वाचनमा जाँन सकिदैन भन्दै, पार्टी विधान अनुसार बहुमत हस्ताक्षरसहित विशेष महाधिवेशको आहव्वान गर्यो ।
भृकुटिमण्डम आयोजित बहुमत प्रतिनिधिहरू ६२ प्रतिशत सहभागिता रहेको विशेष महाधिवेशनकै क्रममा पनि देउवा पक्षसंग वार्ता भयो । गगन पक्षले राखेको ७ बुँदे प्रस्तावमा शेरवहादुर पक्ष असहमत भयो । तत्काल केन्द्रिय कमिटिको बैठक बसि गगन, विश्वप्रकास र फरमुल्ला मन्सुरलाई पार्टीबाट निष्कासन गरेको निर्णय सार्वजनिक गर्यो । देउवापक्षको हठले पार्टी त्यहि निर्णयबाट विभाजित हुनपुग्यो । यता विशेष महाधिवेशन हलले निर्वाचनको कार्यक्रम प्रकाशित गर्दै नयाँ नेतृत्व चयन गर्यो । गगन थापा सर्वसम्मतरूपमा सभापति चयन भए । गगनको नेतृत्व नया कार्यसमिति सर्वसम्मत रुपमा चयन भयो । अबको आधिकारिक हो रूख, चारतारे झण्डा कस्ले पाउछ भन्ने विवाद निर्वाचन आयोगमा पुग्यो र निर्वाचन आयोगले विधान कानुनसम्मत ढंगले निर्णय गर्दै गगन नेतृत्वको समितिलाई मान्यता दिने निर्णय गर्यो ।
आयोगको निर्णयसँगै कांग्रेसभित्रको रडाको तिब्र भएको छ । शेरवाहादूर पक्षले देशभर आन्दोलन गर्ने धम्कि दिएको छ । देउवा पक्ष सडक आन्दोलनमा उत्रिँदा गगन नेतृत्वको कांग्रेस पार्टीले ठुलो छाति राखेर विशेष महाधिवेशन सहभागी नभएका सम्पूर्ण कांग्रेस साथिहरू जो अहिले अल्पमतमा छन तिन्लाई समेटेर जानुपर्दछ । सभापतिको रुपमा गगन थापाले जारी गरेको वक्तव्यमा कुनै किसिमको आग्रह छैन अभिभावकको रूपमा शेरवहादुरलाई सम्मान गर्दै सबै साथिहरूलाई आफ्नो नेतृत्वको आधिकारिक कांग्रेसमा जोडिन अपिल गरिसकेको छ । गगन थापाहरूले जेन्जि आन्दोलनको मर्म र चुरोलाई समातेर जनभावना र पुस्तागत आकांक्षालाई प्रतिबिम्बित गरे जुन प्रयास सार्थक देखियो ।
जेन्जी आन्दोलनपछि सार्वजनिक तहमा उठेको आवाज नयाँ पुस्ताको वैचारिक नेतृत्व र जवाफदेहिताको अपेक्षा थियो, जसलाई पुरानो नेतृत्वले अवमूल्यन गरेकाले अन्ततः विशेष महाधिवेशनले त्यसलाई संस्थागत रूपमा समाधान दियो ।
अब मूल प्रश्न नेतृत्वको वैधता त छँदै छ आफ्नो ठाउँमा तर भोलिको राजनीतिक रणनीति र भविष्यको संगठनात्मक संरचना कसरी अधि बढला देउवा समूहको के गर्ला भन्ने सन्दर्भमा देउवा समूहका अगाडि दुई विकल्प स्पष्ट देखिन्छः (१) पार्टीभित्रै गगन नेतृत्व स्वीकार गर्दै शक्ति–साझेदारी र संगठनभित्रको बार्गेनिंगमा जाने वा पार्टी फुटाएर नयाँ पार्टी दर्ता गर्ने । दोस्रो विकल्प व्यवहारिक हिसाबले धेरै जोखिमपूर्ण देखिन्छ । नयाँ दल गठन गर्दा संगठनात्मक संरचना शून्यबाट सुरु गर्नुपर्दछ, स्थानीय तहदेखि केन्द्रसम्मको क्याडर नेटवर्क पुननिर्माण गर्न समय, स्रोत र विश्वास आवश्यक पर्छ । अर्कोतर्फ, रुख चुनाव चिन्ह संस्थापन पार्टीको ऐतिहासिक पूँजी हो जुन कार्यकर्ताको मनोवैज्ञानिक धरातलमा बलियो भएर बसेको छ । तसर्थ बहुसंख्यक क्याडर र भोटरहरूले भविष्यलाई नयाँ पुस्तासँग जोडेर हेरेपनि पार्टी फुटाइहाल्ने जोखिम जिम्मेवारी बोक्न कोहि चाहँदैनन ।
यद्यपि देउवा समूहको अर्को गुनासो छ नयाँ नेतृत्वको लोकप्रियता छ तर पुरानो संरचनाले बनाएको संगठनात्मक मेकानिज्म र तिन्का त्याग योगदान जेल जिवन अनुभवलाई पनि नकार्न सकिन्न भन्ने छ । यिनै कारणले फुट्नु भन्दा पार्टीभित्रै शक्ति–सन्तुलनमार्फत पुनरसंरचना हुने प्रक्रिया अधिक सम्भावित देखिन्छ । चुनाव चिन्हको महत्व केवल संगठनात्मक मात्र होइन, मनोवैज्ञानिक पनि हो । कांग्रेस संस्थागत पार्टी भएकाले कार्यकर्ता विच्छेद स्वतः द्रुत गतिको हुने छैन । त्यसमाथि आन्दोलनपछिको नेतृत्व परिवर्तनलाई लोकप्रिय इच्छाशक्तिको रूपमा समाजले ग्रहण गरिरहेकोले नयाँ नेतृत्वसँग जनसमर्थनको पहिलो लाभ रहि रहन्छ । जुन देउवा समूहले नयाँ पार्टीको रूपमा पाउन कठिन छ ।
यस कारण राजनीतिक बुद्धिमानीको विकल्प भनेको देउवा समूहले गगन नेतृत्वलाई स्वीकार गर्दै पार्टीभित्रै नीति, संगठन र वैचारिक संतुलन खोज्नु हो । संघीय लोकतान्त्रिक प्रणालीमा दलभित्रको प्रतिस्पर्धात्मक बहसलाई फुटमार्फत होइन, आन्तरिक समायोजनमार्फत समाधान गर्ने परिपाटी संस्थागत विकासका लागि उत्तम मानिन्छ । नयाँ दल गठन गर्दा प्रारम्भिक लोकप्रियता होलान्, तर संरचनागत रूपमा कांग्रेस जस्तो ऐतिहासिक दलबाट कार्यकर्ता पृथक हुनु सहज छैन । देउवा समूहले पाउनु पर्ने भूमिका र सम्मानजनक स्पेस पनि पार्टीभित्रै सम्भव छ, पार्टीबाहिर होइन ।
अन्ततः यो नेतृत्व परिवर्तन केबल व्यक्तिको परिवर्तन होइन, पुस्ताको संक्रमण हो । पुरानो पुस्ताले सुम्पिन नचाहेको नेतृत्व नयाँ पुस्ताले वैधानिक र राजनीतिक दुवै माध्यमबाट लिएको हो । आन्दोलनपछि सिर्जना भएको परिवर्तनको जनआवाज डुबाउन खोजियो, तर संस्थागत प्रक्रियाले पुर्ण तान्यो । अहिलेको परिस्थितिमा कांग्रेसले फुट्नु भनेको नेपाली लोकतान्त्रिक शक्तिको कमजोर रूपान्तरण हुनेछ, जुन अन्ततः प्रतिगमनकारी सत्ता र शक्तिलाई फाइदा पुग्ने जोखिम छ । त्यसैले देउवाले आफ्नो राजनीतिक हठ त्यागेर विगतको राजनीतिक इतिहास सम्झेर युवाहरुलाई प्रोत्साहन गर्दै राजनेताको रुपमा प्रस्तुत हुँदा कांग्रेस बलियो हुने देखिन्छ । त्यसैले रणनीतिक दृष्टिले पनि पार्टीभित्रै रूपान्तरण स्वीकार गर्नु कांग्रेस, जनआन्दोलनको मूल्य र लोकतान्त्रिक शक्तिहरूको सामूहिक भविष्यका लागि उत्तम ठहरिन्छ । आगे जो बिचार ।।











