सामूहिक ईहि यज्ञ (सुवर्णकुमार बेलविवाह) आयोजना बारे जानकारी दिँदै ।

हेटौँडा : हेटौँडामा ५४ औँ सामूहिक ईहि यज्ञ (सुवर्णकुमार बेलविवाह) बिहीबार र शुक्रबार हुने भएको छ । सोमबार ईहि यज्ञ (सुवर्णकुमार बेलविवाह) संस्थाले पत्रकार सम्मेलन आयोजना गरी श्री पञ्चमीको शुभ साइतमा पालोवाला गुठियार तथा आजीवन सदस्य यसकुमार श्रेष्ठद्वारा ईहि यज्ञ सामूहिक रुपमा गरिने जानकारी दिएको हो ।

यस वर्ष ६१ जना कन्याहरुको सामूहिक रुपमा ईहि यज्ञ गरिने आयोजकले जनाएको छ । बेलविवाहको लागि प्रतिकन्या ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । बेलविवाह समारोहमा २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको संस्थाका अध्यक्ष हरिश्चन्द्र श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार हेटौँडा उपमहानगरपालिकाले १ लाख रुपैयाँ सहयोग गर्ने र बाँकी खर्च गुठीले व्यर्होनेछ । संस्थामा हाल १७ जना आजीवन सदस्यहरु रहेका छन् । प्रत्येक वर्ष आजीवन सदस्यहरुबाट पालै पालो गरी बेलविवाह आयोजना गरिन्छ ।

नेवार जातिमा बालिकालाई राजस्वला हुनुअगाडि ईहि गराउने प्रचलन छ । ईहि गर्ने बालिका दिनभरी व्रत बसेर बेललगायत कलश, बज्र, चक्र आदिको पूजाआजा गर्दछन् । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास छ । ईहि संस्कार भएपछि विजोर वर्षमा बाह्र दिनसम्म बाह्रा राखेपछि सूर्यदर्शन गराइन्छ र वयस्क भएपछि बरसँग विवाह गराइन्छ ।