हेटौँडा : नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनमा रसुवाबाट प्रेमबहादुर तामाङलाई उम्मेदवार बनाएको छ । फागुन २१ का लागि तोकिएको निर्वाचनमा एक क्षेत्र रहेको रसुवाबाट तामाङलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएका हुन् । तामाङ गत मंसिरमा सम्पन्न महाधिवेशनबाट एमाले केन्द्रीय सदस्य समेत निर्वाचित भएका थिए ।
तत्कालिन माओवादी केन्द्रमा आवद्ध तामाङ २०७४ मा नयाँ शक्ति नेपालबाट बागमती प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । तामाङ बाबुराम भट्टराई टिममा रहेका थिए । नयाँ शक्ति र उपेन्द्र यादवको जसपा बीचको भएको एकतापछि उनी जसपामा आवद्ध थिए । प्रदेशसभा सदस्य बहाल रहेका बखतमा उनी जसपामा रहेर कांग्रेसको क्रियाशील सदस्य समेत थिए ।
तत्कालिन समयमा जसपामा रहेर भित्रभित्रै कांग्रेस राजनीतिमा सक्रिय तामाङले प्रदेश सभा सदस्य पद जोगाउनकै लागि तामाङले महाधिवेशन प्रतिनिधि चुनिएको प्रमाणपत्र गुपचुप बुझेका थिए । तामाङ रसुवाबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भई मतदानमा सहभागी भएका थिए । २०७८ मंसिर ४ मा कांग्रेसमा उनको क्रियाशील सदस्यता नम्बर ३३१०१२०३०२१८४१४ रहेको थियो । २०७८ मा भएको कांग्रेस बागमती प्रदेश समितिको निर्वाचनमा समेत मतदान गरेका थिए । सो निर्वाचनमा प्रदेश सभापतिमा इन्द्र बहादुर बानियाँलाई चुनाव जिउन खुसुक्क हेटौंडा आएर मतदान गरेर रातारात काठमाडौं फर्केका थिए । तत्कालिन समयमा प्रदेशको राज्यमन्त्री पाउने गरी कांग्रेसमा लागेका तामाङलाई सो अवसर प्राप्त भएन ।
२०७९ मा कार्यकाल सकिएपछि उनले टिकट पनि पाएनन् । न नै उनी समानुपातिकमा परे । अवसर नपाएपछि तामाङ कांग्रेस छाडेर एमाले छिरेका थिए । एमाले लागेको केही समयमा नै उनी एमाले अध्यक्ष केपी शर्मा ओली क्याम्पबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । आगामी निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनमा उनलाई अध्यक्ष ओलीले उम्मेदवार बनाएका हुन् ।











