हेटौँडा : आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सिन्धुपाल्चोक–२ मा बागमती प्रदेशसभा सदस्य युवराज दुलाल ‘शरद’ लाई उम्मेदवार बनाउने भएको छ । नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुपाल्चोक–२ का लागि दुलाललाई टिकट प्रदान गरेका हुन् ।
सिन्धुपाल्चोक २ (क)बाट २ पटक प्रदेशसभा सदस्य निर्वाचित भएका दुलालले टिकट पाएसँगै प्रदेशसभा सदस्य पदबाट राजीनामा गरेर माघ ६ गते हुने प्रतिनिधिसभा सदस्य पदकका लागि मनोनयन दर्ता गर्नेछन् । दुलाल २०७४ र २०७९ मा सो क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । दुलाल लामो समय सरकारमा रहे । प्रदेशको सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका उनी टिकट पाउनु अघि नै निर्वाचन क्षेत्रमा सक्रिय भइसकेका छन् । उनको नाम क्षेत्रीय कमिटी र जिल्ला कमिटीबाट सर्वसम्मत रुपमा एकल सिफारिस गरिएको थियो ।
प्रदेशसभाको पहिलो कार्यकालमा दुलाल २०७४ फागुनदेखि २०७७ पुस ५ सम्म र दोस्रो कार्यकालमा २०७९ पुस २५ देखि २०८१ साउनसम्म प्रदेशको मन्त्री बनेका थिए । उनले पहिलो कार्यकालमा प्रदेशको सामाजिक विकास मन्त्रालय र दोस्रो कार्यकालमा भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । दुलालले प्रदेशको सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा रहँदा कार्यान्वयनमा ल्याएको ‘एक विद्यालय एक नर्स’, ‘विद्यालय बस’ तथा ‘मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम’ प्रभावकारी देखिएको थियो भने भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा रहँदा प्रादेशिक सडक गुरुयोजना तयारी गरी कार्यान्वयनमा ल्याएका थिए । गुरुयोजना अन्तर्गत प्रदेशका रणनीतिक सडकका रुपमा २५० वटा बाटोहरुलाई प्रादेशिक लोकमार्ग र प्रदेशमार्गको रुपमा निर्धारण गरेर स्तरोन्नतिका लागि स्रोत समेत व्यवस्था गरेका थिए ।
२०७९ को निर्वाचनमा संघमा प्रतिस्पर्धा गर्ने तयारी गरेका दुलाल गठबन्धनका कारण प्रदशेमा नै झरेका थिए । कांग्रेससँगको गठबन्धनका कारण मोहन बहादुर बस्नेतलाई सो क्षेत्र छाडेर प्रदेशमा आएका दुलाल आगामी निर्वाचनमा एमालेका शेरबहादुर तामाङसँग प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । काँग्रेसले भने उम्मेदवार तय गरेको छैन । कांग्रेसका बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा चलिरहेको छ भने बस्नेतले हराएका तामाङले एमालेबाट टिकट पाइसकेका छन् । गत निर्वाचनमा बस्नेतलाई सो क्षेत्रमा चुनाव जिताउन दुलालको भूमिकाबारे अहिले पनि चर्चा हुने गरेको छ ।










