हेटौँडा : आगामी फागुनमा हुने निर्वाचनका लागि बागमती प्रदेश सभाका सदस्यहरुको चुनावी दौडको तयारीमा रहेका छन् । प्रदेश सभाको २ वर्षे कार्यकाल बाँकी नै रहँदा उनीहरु प्रतिनिधिसभाका लागि छलाङ मार्ने तयारीमा जुटेका हुन् ।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेश सभा सदस्यबाट राजीनामा दिने तयारी उनीहरुको रहेको छ । प्रतिनिधिसभाको तयारीमा कांग्रेसबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामा संघीय सांसदको तयारीमा छन् । उनको नाम नुवाकोट–२ बाट सिफारिसमा परेको छ । विशेष महाधिवेशनबाट कांग्रेसको सहमहामन्त्री बनेका लामा टिकट लिने तयारीमा रहेका छन् । लामा २०८० साउन ९ देखि २०८१ साउन २० सम्म बागमती प्रदेशको मुख्यमन्त्री रहेका थिए भने २०७९ चैतदेखि २०८० फागुनसम्म प्रदेशको अर्थमन्त्री बनेका थिए । लामाले २०७९ मा नुवाकोट २ (ख) बाट प्रदेश सभा सदस्य जितेका थिए ।
यता दोलखाबाट प्रदेश सभा सदस्य बनेका कुन्दन काफ्ले कुनैपनि अवस्थामा संघीय संसदको चुनाव लड्ने योजनामा छन् । प्रदेशबाट राजीनामा गरेर उनी प्रतिनिधि सभामा उम्मेदवार बन्ने तयारीमा छन् । प्रदेशका अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका उनी दोलखाबाट उम्मेदवार सिफारिस भएका छन् । बागमती प्रदेश सभा सदस्य रामकृष्ण चित्रकार पनि प्रतिनिधि सभा निर्वाचनको तयारीमा छन् । ललितपुर–२ बाट चुनाव लड्ने गरी उनको नाम सिफारिस भएको छ । २०७९ भदौदेखि २०८० फागुनसम्म प्रदेशको उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रीको भूमिकामा रहेका उनी संविधानसभा सदस्य समेत हुन् । कांग्रेस केन्द्रको निर्देशन विपरित उम्मेदवार सिफारिस भएका उनीहरुको उम्मेदवारी बारे भने निर्णय हुन बाँकी रहेको छ । कांग्रेसले लिएको जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने निर्णय संशोधन भएको खण्डमा उनीहरुको लागि बाटो खुल्ला हुनेछ ।
यता एमालेबाट २०७९ को निर्वाचनमा काठमाडौं–७ (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठ प्रतिनिधि सभा निर्वाचनको तयारीमा छन् । उनको नाम काठमाडौं–७ बाट सिफारिसमा परेको छ । बागमती प्रदेशका पूर्वमन्त्री समेत रहेका श्रेष्ठको नाम पहिलो नम्बरमा सिफारिस भएको छ । दुई कार्यकाल प्रदेशमा रहेका श्रेष्ठ हाल कायम रहेको पदबाट राजीनामा दिएर संघीय संसद जानेको तयारीमा जुटेका हुन् । उनी उम्मेदवार सिफारिसमा परेको क्षेत्रबाट एमालेका ११ जनाको नाम सिफारिसमा परेको छ ।
२०७९ को निर्वाचनमा काठमाडौं–६ (ख) बाट निर्वाचित भएका प्रदेश सभा सदस्य अमन कुमार मास्के फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन् । काठमाडौं–६ बाट चुनावी मैदानमा होमिने तयारीमा रहेका उनीसहित १२ जनाको नाम सिफारिसमा परेको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीको रुपमा एक वर्ष कार्यभार सम्हालेका उनले कामको अझै पनि प्रशंसा हुने गरेको छ । हालै सम्पन्न एमाले महाधिवेशनमा खुल्ला तर्फको केन्द्रीय सदस्य पदमा जितेका आर्किटेक्टर इन्जिनियर मास्के एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका छन् ।
उता तत्कालीन नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य युवराज दुलाल ‘शरद’ पनि प्रदेशबाट राजीनामा दिएर प्रतिनिधि सभामा होमिने तयारीमा छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सिन्धुपाल्चोक–२ बाट एकल सिफारिसमा परेका दुलाल प्रतिनिधि सभा निर्वाचनमा होमिने तयारीमा जुटेका हुन् । सिन्धुपाल्चोक–२ (क) बाट दुई पटक चुनाव जितेर बागमती प्रदेश सभा सदस्य बनेका दुलालको लामो समय सरकारमा रहे । प्रदेशको सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका उनी निर्वाचन क्षेत्रमा सक्रिय भइसकेका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री समेत रहेका बागमती प्रदेशका पूर्वसभामुख भुवन कुमार पाठकले पनि प्रदेश सदस्यबाट राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनमा होमिने तयारी गरेका छन् । उनको नाम राप्रपाले काठमाडौं–४ बाट पहिलो नम्बरमा सिफारिस गरेको छ । २०७९ को आम निर्वाचनमा काठमाडौंबाट समानुपातिकतर्फ प्रदेश सभा सदस्य बनेका पाठक २९ पुस २०७९ मा बागमती प्रदेश सभा सभामुखमा निर्वाचित भएका थिए ।
एमालेका पूर्वमन्त्री समेत रहेका कृष्णप्रसाद सिलवाल, राप्रपाकी कुमारी तामाङ, नेकपाका प्रेमबहादुर पुलामी, कुमारी मोक्तान लगायत प्रदेश सभा सदस्यहरुको नाम सिफारिस भएको छ । टिकट पाएको खण्डमा माघ ५ गते हेटौँडा आएर राजीनामा दिने तयारीमा रहेका छन् ।











