हेटौँडा : हेटौँडा–५ का सञ्जीव अर्याल चित्लाङ फुटबल क्लबको तर्फबाट राष्ट्रिय लिग फुटबल प्रतियोगिता खेल्ने भएका छन् । शुक्रबार प्रतियोगिताका लागि चित्लाङ एफसीसँग सम्झौता भएको अर्यालयले जानकारी दिएका हुन् ।
विसं २०७४ सालबाट व्यावसायिक खेलजीवनको सुरुवात गरेका अर्यालले यसअघि समूह चरणका यु १४, यु १५ र यु १६ प्रतियोगिताहरु राष्ट्रिय टोलीबाट खेलिसकेका छन् । हेटौँडा–५ का पिप्ले युवा क्लबबाट खेलको सुरुवात गरेका उनी पछिल्लो समय हेटौँडा फुटबल एकेडेमीमा भीम लामाको नेतृत्वमा प्रशिक्षण गर्दै आएको जानकारी दिएका छन् ।
अर्यालले काठमाडौंको मच्छिन्द्र क्लबबाट पहिलो पटक ‘ए’ डिभिजन प्रतियोगिता खेलेका थिए । अर्यालसँग विभिन्न घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरु खेलेको अनुभव छ ।
नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पुस २५ गतेदेखि सुरु हुने भनिएको प्रतियोगिता बुधबारबाट सुरु भएको छ । चित्लाङ एफसीले प्रतियोगिताको आफ्नो पहिलो खेल शुक्रबार बाराको नवजनजागृति युवा क्लबसँग खेल्नेछ । प्रतियोगिता ललितपुरको सातदोबाटोस्थित एन्फा कमप्लेक्समा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
पछिल्लो पटक गत कात्तिक र मंसिरमा हेटौँडामा भएको एन्फा प्रेसिडेन्ट लिगको सेमिफाइनलमा चित्लाङ एफसीले नवजनजागृति क्लबलाई पराजित गरेको थियो । प्रतियोगितामा १७ वटा टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता टोलीले अर्को वर्ष हुने एएफसी क्लब प्रतियोगितामा सहभागी हुन पाउनेछ ।











