हेटौँडा : माघे संक्रान्ति तथा माघी पर्व आज बिहीबार देशभर मनाइँदैछ । माघे संक्रान्तिबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर संक्रान्ति पनि भन्ने गरिएको छ ।
माघे संक्रान्ति पर्व घिउ, चाकु, तिलको लड्डु, तरुल, खिचडीलगायतका परिकार खाएर मनाइन्छ । आजको दिन आफन्त तथा परिवारका सदस्य जम्मा भएर अघिल्लो राति नै पकाइएको तरुल, चाकु, लड्डु तथा घिउलगायतका मीठामीठा परिकार खाएर रमाइलो गर्ने चलन छ ।
माघे संक्रान्तिका दिनलाई थारु, मगर र छन्त्याल समुदायले नयाँ वर्षको रुपमा धुमधामसँग मनाउने गर्दछन् । पश्चिम तराईका जिल्लामा बसोबास गर्ने थारु समुदायले माघे संक्रान्तिलाई माघी पर्वको रुपमा मनाउने चलन छ । थारु समुदायले माघ १ गतेदेखि गाउँको मुखिया चयन गर्ने, वर्ष दिनको योजना बनाउनेलगायत काम गर्दछन् ।
माघे संक्रान्तिको अवसरमा सुनसरीको बराहक्षेत्र, चितवनको देवघाट, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारा, काभ्रेको पनौती, गुल्मीको रिडीलगायत देशभरका नदी, त्रिवेणी तथा सागरहरुमा मकर संक्रान्ति मेला लाग्ने गर्दछ । ती स्थानमा स्नान गर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ ।











