हेटौँडा : त्रिभुवन राजपथको हेटौँडा–भैँसे सडकखण्डमा पर्ने बाघझोरा खहरेमा पुल निर्माणका लागि १० करोड रुपैयाँ बजेट सुनिश्चित भएको छ । वर्षायाममा पानी पर्दा खहरे खोलामा आउने बाढीका कारण बारम्बार सडक अवरुद्ध भएपछि दीर्घकालीन समस्या समाधानका लागि बजेट सुनिश्चित भएको बताइएको हो ।

मंगलबार विघटित प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले सामाजिक सञ्जाल फेसबुकमार्फत् बागझोरामा पुल निर्माणका लागि बजेट सुनिश्चत भएको बताउनुभएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली तथा तत्कालीन संघीय मन्त्री देवेन्द्र दाहालसँग आफूले विशेष माग र समन्वय गरेका कारण प्रारम्भिक बजेट सुनिश्चित भएको बर्तौलाले उल्लेख गर्नुभएको छ ।

संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत् केही हप्ताभित्रै प्राविधिक अध्ययन सम्पन्न गरी ठेक्का प्रक्रिया अगाडि बढाइने उहाँले जानकारी दिनुभएको हो । पुल निर्माण भएपछि त्रिभुवन राजपथ हुँदै यात्रा गर्ने यात्रुलाई सहज हुने र वर्षायाममा सडक बन्द हुने समस्या दीर्घकालीन रूपमा समाधान हुने विश्वास गरिएको छ ।