पुरस्कार वितरणपछि खिचिएको सामूहिक तस्वीर ।

हेटौँडा : मनहरी गाउँपालिकास्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि मनहरी–६, सुनाचुरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयले जितेको छ । गत वर्षको विजेता राष्ट्रिय माविले लगातार दोस्रो पटक उपाधि जितेको मनहरी गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रदीप पराजुलीले जानकारी दिनुभयो ।

आइतबार र सोमबार आयोजना गरिएको विभिन्न विधाको प्रतियोगितामा ७ स्वर्ण, ६ रजत र ३ कास्य पदक प्राप्त गर्दै राष्ट्रिय माध्यमिक विद्यालयले उपाधि हात पारेको हो । साविक उपविजेता मनहरी–१, मकरीस्थित बालजीवन ज्योति माध्यमिक विद्यालयले ६ स्वर्ण, ६ रजत र ५ कास्य पदक हात पार्दै द्वितीय भएको छ । मनहरी–९, रजैयास्थित युवावर्ष गंगा आधारभूत विद्यालयले ४ स्वर्ण, १ रजत र १ कास्य पदक जित्दै तृतीय हुन सफल भएको छ ।

प्रथम भएको राष्ट्रिय माविले राष्ट्रपति रनिङशिल्डसहित १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । द्वितीय र तृतीय भएको विद्यालयले शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा १८ वटा विद्यालयको सहभागिता थियो । पशुपतिनाथ माध्यमिक विद्यालयको व्यवस्थापनमा प्रतियोगिता भएको शाखा प्रमुख पराजुलीले बताउनुभयो ।