हेटौँडा : हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयले स्वर्ण महोत्सव विविध कार्यक्रम गरी मनाउने भएको छ । शनिबारदेखि जिल्लास्तरीय महिला शिक्षक भलिबल प्रतियोगिता आयोजना गरेको प्रगति माध्यमिक विद्यालयले आगामी माघ ६ गतेदेखि ९ गतेसम्म स्वर्ण महोत्सव विशेष कार्यक्रम गर्ने जनाएको छ ।
शनिबार पत्रकार सम्मेलन गरेर स्वर्ण महोत्सव समारोहको विषयमा जानकारी गराएको छ । शनिबार र आइतबार महिला शिक्षक भलिबल प्रतियोगिता हुनेछ भने माघ २ गते छात्रा भलिबल प्रतियोगिता, माघ ३ गते जिल्लास्तरीय शिक्षक सम्मेलन, माघ ४ गते विविध अतिरिक्त क्रियाकलाप, माघ ५ गते विद्यार्थी साइकल र्याली, मानवसेवा आश्रमलाई सहयोग, विद्यालयको सरसफाई कार्यक्रम हुने प्रधानाध्यापक किशोर पराजुलीले जानकारी दिनुभयो ।
माघ ६ गते स्वर्ण महोत्सव उद्घाटन, स्वर्ण स्तम्भ अनावरण, स्मारिका विमोचन, विद्यालय गान सार्वजनिक, शैक्षिक प्रदर्शनी, साँस्कृतिक कार्यक्रमसँगै सम्मान कार्यक्रम हुनेछ । माघ ७ गते साहित्य सम्मेलन, विद्यार्थीका विविध अतिरिक्त क्रियाकलाप हुनेछ । १२ कक्षासम्म पठनपाठन हुने प्रगति माध्यमिक विद्यालयमा १ हजार ३ सय ७५ विद्यार्थी अध्ययनरत छन् । पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछानेको पनि उपस्थिति रहेको थियो ।











