विडारीलाई थाहा पत्रकारिता पुरस्कार प्रदान गरिँदै बायाँ । कार्कीलाई तीर्थदास सामाजिक सम्मान प्रदान गरिँदै (दायाँ) ।

हेटौँडा : थाहा दर्शनका प्रणेता एवम् मकवानपुरका दार्शनिक नेता रुपचन्द्र बिष्टको ९२ औं जन्मजयन्ती थाहा नगरमा मनाइएको छ । बिष्टको जन्मजयन्तीको अवसरमा थाहा नगरपालिका र ‘फरक सोँच’ संस्थाको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्य तथा थाहा नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष हिरेन्द्र कुमार रायमाझीको सभाध्यक्षतामा भएको कार्यक्रमका सहभागीहरुले रुपचन्द्र बिष्टको थाहा दर्शनबारे परिचर्चा गरेका थिए ।

उनीहरुले थाहा दर्शन वर्तमान समयमा अत्यन्र्तै उपयोगी दर्शन रहेको बताएका छन् । थाहा दर्शन मकवानपुरको पहिचान भएकोले यसलाई सदैव सम्मान गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । कार्यक्रममा नेकपा एमालेका थाहा नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, नेपाली काँग्रेसका थाहा नगर उपसभापति नवराज कार्की, नेकपा प्रदेश सदस्य इन्द्र बहादुर श्रेष्ठ, भूमि समस्या समाधान आयोग मकवानपुरका पूर्व सदस्य अरुण रायमाझी, पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्ण बहादुर बिष्ट, फरक सोच संस्थाका संयोजक यादव जंग रायमाझी तथा रुपचन्द्र बिष्टका जनमुखी सहकर्मी बिमल बिष्टले रुपचन्द्र बिष्टको थाहा दर्शन तथा विचारहरुको महत्वबारे बोल्नुभएको थियो ।

कार्यक्रममा सञ्चारकर्मी सुरेश बिडारीलाई नगद रु १० हजारसहित ‘थाहा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । यस्तै कार्यक्रममा नगरपालिकाले ‘तीर्थदास सामाजिक सम्मान’ द्वारा थाहा नगरपालिका–३ स्थित जनकल्याण माविका पूर्वप्रधानाध्यापक सानुभाइ कार्कीलाई प्रदान गरिएको छ । कार्यक्रममा नगरपालिकाले वडा नम्बर ३ का १५ जना र वडा नम्बर ४ का १५ जना ज्यष्ेठ नागरिकहरुलाई ब्ल्याङ्केट, गलबन्दी, थरमस तथा बेतको लौरो प्रदान गरेको छ ।