मेडिकल व्यवसायी दुर्गा प्रसाई

हेटौँडा : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईले हेटौँडाका घरहरु तत्कालीन ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ र जेनजी आन्दोलनका कमान्डर सुदन गुरुङले भत्काएको आरोप लगाउनु भएको छ । बिहीबार हेटौँडामा आयोजित वृहत् भेला तथा नागरिक जागरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईले सडक विस्तारको नाममा वर्तमान सरकारले हेटौँडाका व्यवसायीहरुलाई सुकुम्बासी बनाएको बताउनुभयो ।

उहाँले हेटौँडालाई औद्योगिक क्षेत्र बताउँदै आफूहरुको अभियानले गर्दा कतिपय व्यवसायीहरुले व्यवसाय गर्न पाएको दाबी गर्नुभयो । देशमा जिम्मेवार नेता र सरकार नभएको भन्दै वर्तमान सरकार पनि पश्चिमाहरुको ईशारामा काम गरिरहेको र चुनाव अहिलेको आवश्यकता नभएको प्रसाईको भनाइ छ ।

विसं २०७९ साल फागुन १ गतेबाट प्रसाईको नेतृत्वमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ सुरु भएको हो । पटक–पटक हिन्दू राष्ट्र स्थापना र गरिबका २० लाख रुपैयाँसम्म ऋण मिनाहा गर्ने माग राख्दै आएका प्रसाईले अभियानमा हिँडेकाहरु ऋण नतिरेर हैन, न्याय माग हिँडेको बताउनुभयो । जनतालाई ऋण तिर्न समय चाहियो र ऋण तिर्न नसकेकाहरुको अभिभावको रुपमा सरकार उभिनुपर्ने उहाँको भनाइ छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह र कुलमान घिसिङ बीचको एकताको बारेमा बोल्दै बाबुराम भट्टराई पनि एकै ठाउँमा मिल्ने बताउनुभयो । प्रसाईले भट्टराईमाथि राजदरबार हत्यामा संलग्न रहेको आरोप पनि लगाउनुभयो । आसन्न फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कार गर्न सबैलाई अनुरोध गर्दै फागुन १ गतेदखि काठमाडौँमा सरकार विरुद्ध आन्दोलन गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रसाईले लक्ष्मण बजगाईद्वारा लिखित ‘मध्यकोण’ पुस्तकको विमोचन गर्नुभयो । पुस्तकमा दलरहीत राज्य व्यवस्था, राजकीय नेतृत्वमा राष्ट्राध्यक्ष, सार्वभौम जनतालाई नचाहिएको बहुदलीय शासनजस्ता विषयवस्तु समेटिएको छ ।