प्रमुख अतिथि महेश श्रेष्ठलाई मायाको चिनो प्रदान गर्नु हुँदै शैक्षिक परामर्श संघ मकवानपुरका अध्यक्ष बेलप्रसाद खतिवडा ।

हेटौँडाः जापानिज भाषा कक्षा संचालन गर्ने शैक्षिक परामर्श केन्द्रका सञ्चालकहरुको भेटघाट कार्यक्रम हेटौँडामा शनिबार सम्पन्न भएको छ । नेपाल शैक्षिक परामर्श संघ मकवानपुरको आयोजनामा भएको कार्यक्रममा मकवानपुरसहित चितवन, सिन्धुली र मधेश प्रदेशका अधिकांश जिल्लाबाट परामर्श केन्द्र सञ्चालकहरुको सहभागिता रहेको थियो ।

नेपाल शैक्षिक परामर्श संघ मकवानपुरका अध्यक्ष बेलप्रसाद खतिवडाको अध्यक्षता तथा जापानिज भाषा परीक्षा सन्चालन गर्ने जे–सर्ट नेपालका परीक्षा निर्देशक महेश कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । मकवानपुरमा गत फागुनदेखि हेटौँडामै जापानिज भाषाको परीक्षा सन्चालन गर्दै आएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै जे–सर्ट नेपालका परीक्षा निर्देशक श्रेष्ठले हेटौँडा राम्रो परीक्षा केन्द्रको रूपमा स्थापित हुँदै गएको बताउनुभयो । विद्यार्थीले सहजै परीक्षा दिन पाएको उल्लेख गर्नुहुँदै उहाँले उच्च शिक्षा अध्ययनका लागि जापान जाने विद्यार्थीलाई भाषासम्बन्धी सीप प्रदान गरी पठाउन सफल भएको बताउनुभयो । हेटौँडामा जे–सरमटको छैठौं परीक्षा सम्पन्न भएको छ ।

कार्यक्रममा मकवानपुरको परीक्षा समितिका संयोजक सुरज घलान, सदस्यहरु नवीन राज सापकोटा र उमेश हुमागाईलाई सम्मान गरिएको थियो । यस्तै निशूल्क रुपमा परीक्षा सञ्चालनका लागि स्थान उपलब्ध गराउने हेटौँडा सिटी कलेज, सन् २०२५ मा सबैभन्दा बढी विद्यार्थी परीक्षामा सहभागी गराउने चितवनको सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरका सञ्चालकलाई पनि सम्मान गरिएको छ । गत फागुनदेखि हेटौँडामै जापानिज भाषा परीक्षा सञ्चालन हुँदै आएको छ । सन् २०२५ मा मात्रै एक हजार एक सय भन्दा बढीले हेटौँडाबाट जापानिज भाषा परीक्षा दिएको नेपाल शैक्षिक परामर्श संघ मकवानपुरका सचिव मनिष अधिकारीले जानकारी दिनुभएको छ ।