हेटौँडा–२, चौकिटोलस्थित ॐ वृद्धाश्रममा आगो ताप्दै ज्येष्ठ नागरिकहरु ।

हेटौँडा : जाडो बढेसँगै डिभिजन वन कार्यालय मकवानपुरले हेटौँडाका विभिन्न वृद्धाश्रम र मन्दिरहरूलाई दाउरा उपलब्ध गराएको छ । चिसोका कारण वृद्धवृद्धा र सर्वसाधारणलाई परेको समस्यालाई मध्यनजर गर्दै कार्यालयले मंगलबार दाउरा उपलब्ध गराएको हो ।

चिसो मौसममा आगो तापेर राहत मिलोस् भन्ने उद्देश्यले वन कार्यालयले दाउरा बाँड्दै छ । कार्यालयका अनुसार हेटौँडा–२, चौकिटोलस्थित ॐ वृद्धाश्रम, हेटौँडा–४ स्थित भुवनेश्वर पशुपतिनाथ मन्दिर, हेटौँडा–५ स्थित लक्ष्मीनारायण मन्दिर र हेटौँडा–१०, राप्तीतटस्थित गोरक्षेश्वर मन्दिरमा दाउरा वितरण गरिएको छ । जाडोबाट जोगाउन विशेषगरी वृद्धवृद्धालाई लक्षित गरेर दाउरा बाँडिएको डिभिजन वन कार्यालयका सुरक्षा शाखा प्रमुख यादविन्द्र पौडेलले जानकारी दिनुभयो ।

कार्यालयले विभिन्न सामुदायिक वनहरूसँग सहयोग मागेर दाउरा वितरण गरिरहेको उहाँले बताउनुभयो । चिसोबाट प्रभावित अशक्त तथा विपन्न वर्गले दाउराको माग गरेमा कार्यालयले आफैं यातायातको व्यवस्था गरी दाउरा उपलब्ध गराउने छ । स्थानीयको आवश्यकता र माग अनुसार दाउरा बाँडिएको पौडेलले बताउनु भयो ।