भानु माविको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी विद्यार्थीहरु ।

हेटौँडा : मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३, मक्राञ्चुलीस्थित भानु माध्यमिक विद्यालयले आफ्नो ४९ औ वार्षिक उत्सवको अवसरमा दुई दिनसम्म विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक गतिविधि सञ्चालन गरेको छ । विद्यालयले शुक्रबार हुने ४९ औं वार्षिकोत्सवको अवसरमा मङ्गलबार र बुधबार विविध कार्यक्रम गरेको विद्यालयका सहायक प्राधानाध्यापक शिवराम फुयालले जानकारी दिनुभयो ।

विद्यालयले १ कक्षादेखि ६ कक्षासम्मको खेलकुद र महिला शिक्षिका भलिबल प्रतियोगिता मङ्गलबार सम्पन्न गरेको छ भने ७ कक्षादेखि १२ कक्षासम्मको खेलकुद र पुरुष शिक्षक भलिबल प्रतियोगिता सम्पन्न गरेको फुयालले जानकारी दिनुभयो । वार्षिकोत्सवको अवसर पारेर विद्यालयले मङ्गलबार र बुधबार विद्यार्थीहरूका लागि विविध कार्यक्रमको आयोजना गरेको थियो । विद्यालयले सबै बाल विकास कक्षाका लागि चकलेट दौड, बोतलमा पानी भर्ने र लक्की नम्बर खेल सञ्चालन गरिएको थियो । १ कक्षादेखि ३ कक्षासम्मका विद्यार्थीहरूलाई नेपाली हिज्जे र इन आउट खेल सञ्चालन गरिएको थियो ।

कक्षा ४ र ५ का विद्यार्थीका लागि नेपाली हिज्जे, म्युजिकल चेयर, कक्षा ६ देखि कक्षा ८ सम्मका विद्याथीका लागि घैंटो फुटाई र चम्चा दौड, कक्षा–८ देखि कक्षा–१२ सम्मका लागि छात्रा भलिबल, छात्र फुट्सल र म्युजिकल चेयर सञ्चालन गरिएको थियो । यस्तै खुल्लातर्फ एक सय, दुई सय र चार सय मिटर छात्र÷छात्रा दौड सञ्चालन गरिएको थियो । दौडमा छात्रतर्फ शुकराज भोम्जन प्रथम, सम्राट चौलागाईं द्वितीय र रोजन बिक तृतीय भएका छन् भने छात्रातर्फ सुनमाया रुम्बा प्रथम, सपना सुनार द्वितीय र सरस्वती अर्याल तृतीय भएकी थिइन् । बुद्धिचाल प्रतियोगितामा अनमोल दाहाल प्रथम, सिमन घोरासानी द्वितीय र प्रसिद्ध दङ्गाली तृतीय भएका छन् भने छात्रातर्फ रिदि सापकोटा प्रथम हुनुभएको थियो । गायनमा सोनीमाया भोम्जन प्रथम, उज्ज्वल विक द्वितीय, सार्थक ल्वागुन र अनुष्का दाहाल तृतीय हुनुभएको छ । प्रतियोगितामा प्रथम द्वितीय तृतीय र सान्त्वना हुने सबैलाई मेडल प्रदान गरिएको थियो ।

शिक्षकहरूका लागि मैत्रीपूर्ण महिला पुरुष भलिबल प्रतियोगिता भएको थियो । यस्तै वार्षिकोत्सवको दिन नृत्यका लागि शारदा स्वाँर र युनिषा, रोजिना तामाङ, शिशिर भलोन र दीपिका पाख्रिन, जिज्ञासा चौलागाई चयन हुनुभएको छ । वार्षिकोत्सवमा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्य रहनेछ ।