हेटौँडा : ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता २०८२’ मा मकवानपुरका शिवराज शाही प्रथम हुनुभएको छ । बाह्रखरी मिडियाको आयोजनामा भएको कथा प्रतियोगितामा शाहीद्वारा लिखित ‘एक मान्ठ एक देउटा’ कथाले प्रथम स्थाल हासिल गरेको हो । शाही हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायमा दास्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । प्रथम स्थान हासिल गर्नुभएका शाहीले नगद २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा ऋतेश गुरुङद्वारा लिखित ‘भुइँकुहिरोको बीचमा’ कथा दोस्रो र इन्द्रप्रसाद गोतामे (जगतजंग) द्वारा लिखित ‘अधुरो प्रतिलिपि’ कथाले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा दोस्रो र तेस्रो स्थान हासिल गर्ने कथाका लेखकहरुले क्रमशः १ लाख र ६० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेका छन् । बिहीबार बाह्रखरी मिडियाको आयोजनामा काठमाडौँमा भएको उत्कृष्ट कथा घोषणा समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले विजेताहरुलाई पुरस्कार हस्तान्तरण गर्नुभयो ।
प्रतियोगितामा नेपालसहित विभिन्न दशभन्दा बढी मुलुकबाट १ हजार १ सय ६८ वटा कथाकारहरुको सहभागिता थिए । प्रतियोगितामा नेपालसहित भारत, चीन, युएई, अमेरिका, जापान, बेलायत, कतार, क्यानडा, स्पेन, फिनल्यान्ड, इन्डोनेसिया, अस्ट्रेलिया लगायत देशमा बसोबास गर्ने नेपाली भाषाका कथाकारहरुले भाग लिएको थिए । बाह्रखरीले उत्कृष्ट २५ कथा छनोट गरी अन्तिममा उत्कृष्ट तीन छनोट गरेको हो ।











