हराइरहेकी टेरिसा राई ।

हेटौँडा: २० दिन अघिदेखि हराइरहेकी हेटौँडा–१० की १३ वर्षीया टेरिसा राई अझै फेला परेकी छैनन् । हेटौँडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल स्कूलमा कक्षा ९ मा अध्ययनरत टेरिसा गत मंसिर २१ गते विद्यालयबाट घर फर्कने क्रममा सम्पर्कबिहिन भएकी भएकी थिइन् । प्रहरी अनुसन्धानमा विद्यालयको गेट बाहिरबाट उनकै दाइ (फुपुको छोरा) २९ वर्षीय सुदर्शन राईले लिएर गएको सिसिटिभीमा देखिएको थियो । यद्यपी हालसम्म दुवैजना सम्पर्कमा आएका छैनन् ।

टेरिसाका अभिभावकहरु इन्द्रकुमारी राई र कमल राईले सम्पर्कबिहिन आफ्नी छोरीको खोजीका लागि सहयोग गर्न मिडिया मार्फत आव्हान गरेका थिए । उनीहरुले प्रहरी तथा विभिन्न संघ, संस्थाको सहयोग लिएपनि हालसम्म उनीहरुको पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हालसम्म पनि निरन्तर बालिकाको खोजी तथा अनुसन्धान भइरहेको र दुवैका परिवारसँग सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो । टेरिसाका अभिभावकले २२ गते नै जिल्ला प्रहरीमा उजुरी दिएका थिए ।