हेटौँडा: मकवानपुरगढी गाउँपालिका–६, डुम्रेकुनास्थित जाल्पादेवी माध्यमिक विद्यालयको ४७औँ वार्षिक अभिभावक भेला सम्पन्न भएको छ । बुधबार विघटित प्रतिनिधिसभा सदस्य महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यमा अभिभावक भेलाको उद्घाटन कार्यक्रम भएको विद्यालयका प्रधानाध्यापक राजुप्रसाद गौतमले जानकारी दिनुभयो ।
अभिभावक भेलाको अवसरमा २०८१ सालको एसईईमा नेपाली विषयमा शतप्रतिशत नतिजा ल्याउन सफल शिक्षक शिवप्रसाद पाण्डेलाई नगद ५ हजार र सम्मानपत्रले सम्मान गरिएको प्रअ गौतमले जानकारी दिनुभयो । एसईईमा राम्रो नतिजा ल्याउने विद्यार्थीहरूलाई यसअघि नै एक कार्यक्रमका बीच सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयले शैक्षिक वर्ष २०७८–७९, ०७९–०८० र ०८०–८१ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो । साथै २०८१–८२ को यथार्थ आयव्याय विवरण र २०८२–०८३ को अनुमानित आयव्याय विवरण विद्यालयका प्रअ गौतमले प्रस्तुत गर्नुभएको थियो ।
अभिभावक भेलाको अवसरमा विद्यार्थीहरूले स्वागत गान प्रस्तुत गरेका थिए भने साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो । भेलाकै अवसरमा विद्यालयकी पूर्वविद्यार्थी सरु कार्कीले आफ्नै एल्बमका तीनवटा गीतहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर स्याङ्तानको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको विशिष्ट आतिथ्य रहेको थियो । कार्यक्रममा गाउँपालिकाका पूर्वअध्यक्ष बिदुर हुमागाई, ६ नम्बर वडाध्यक्ष कृष्णप्रसाद बजगाई, पालिकाको शिक्षा शाखा प्राविधिक भगवती घिमिरेको पनि आतिथ्य रहेको थियो । १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल ३३३ जना विद्यार्थी अध्ययनरत छन् ।











