हेटौँडा : हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको निजी स्रोतमा कार्यरत शिक्षक र कर्मचारी सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् । बुधबार एक कार्यक्रमका बीच ६ जना शिक्षक र ७ जना कर्मचारीलाई सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध भएपछि प्राप्त परिचयपत्र वितरण गरिएको छ ।
भुटनदेवी माविमा ३१ जना शिक्षक, कर्मचारी निजी स्रोतमा कार्यरत छन् । दुई शैक्षिक वर्ष सेवा अवधि पूरा भएका शिक्षक, कर्मचारीलाई विद्यालयले सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने व्यवस्था गरेको छ । विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले मकवानपुर जिल्लामा पहिलो पटक निजी स्रोतको कर्मचारीलाई कोषमा आवद्ध गराइएको बताउनु भयो । विद्यालयमा शिक्षक टिकाउन र उनीहरुको भविष्य सुरक्षित गर्न सामाजिक सुरक्षा कोषमा आवद्ध गराइएको उहाँको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौँडा–४ का वडा अध्यक्ष नवीन सिग्देलको सभाध्यक्षतामा परिचयपत्र वितरण कार्यक्रम भएको हो । कार्यक्रममा जिफन्डका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा वडा नम्बर १० का अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष फुर्वा दार्जे लामा र १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तानको पनि आतिथ्य रहेको थियो ।











