हेटौँडा : नेपाल चिकित्सक संघ मकवानपुरको अध्यक्षमा हेटौँडा अस्पतालका बाल स्वास्थ्य विशेषाज्ञ डा. हरि बहादुर खड्का चयन हुनुभएको छ । पुस १ गते सम्पन्न संघको जिल्ला अधिवेशनबाट डा. खड्का सर्वसम्मत अध्यक्ष चयन हुनुभएको हो । यसअघि पनि डा. खड्का नै तदर्थ समितिको अध्यक्ष हुनुहुन्थ्यो । अध्यक्ष खड्का नेतृत्वको समितिले बुधबार शपथग्रहण गरेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा डा. रामचन्द्र सापकोटा, सचिवमा डा. राजु सेढाइ, कोषाध्यक्षमा डा. प्रतिमा खड्का, सहसचिवमा डा. मधु सिग्देल, सहकोषाध्यक्षमा डा. आयुष पौडेल र सदस्यहरुमा डा. प्रशान्त बिडारी, डा. सामिनी चौधरी, डा. सुनिल साह, डा. मोहम्मद आरिफ करिम र डा. रामचन्द्र न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. प्रदीप ज्ञवालीको प्रमुख आतिथ्यमा सपथग्रहण समारोह भएको हो । सपथग्रहण समारोहलाई सम्बोधन गर्नुहुँदै उपकुलपति ज्ञवालीले स्वास्थ्य उपचार जस्तो कुरामा पटक–पटक गल्ती गर्नेलाई कारबाही गर्नुपर्ने बताउनुभयो । चिकित्सक संघले सामाजिक रुपमा स्वास्थ्य सुरक्षा तथा जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरी सर्वसाधारणसँग नजिक रहन उहाँले सुझाव समेत दिनुभयो । हेटौँडा अस्पताललाई स्तरोन्नति गरी ३ सय शैय्याबाट ५ सय शैय्याको बनाउने तयारी भइरहेकोले हेटौँडा अस्पतालमा चिकित्सकको भूमिका र महत्व बढ्दै गएको उपकुलपति ज्ञवालीले बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष डा. खड्काले कुनै स्वास्थ्यकर्मी तथा कर्मचारीले प्राविधिक रुपमा गल्ती गर्छ भने कारबाही गर्नुपर्ने तर मेडिकल काउन्सिल तथा अदालतको बाटो हुँदाहुँदै चिकित्सकमाथि भौतिक आक्रमण गर्नु, धम्की दिनु निन्दनीय भएको बताउनुभयो । गल्ती गर्नेले अवश्य सजाय पाउने उल्लेख गर्नुहुँदै डा. खड्काले यसका लागि कानूनी तरिकाले अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भिमसागर गुरागाँई, हेटौँडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाको पनि आतिथ्य रहेको थियो ।











