हेटौँडाः हेटौँडा–१७, हटियास्थित शिवम् सिमेन्ट उद्योगबाट हुने धुवाँ, धुलो र ध्वनि प्रदूषण नियन्त्रण गर्न माग गर्दै बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय ध्यानाकर्षण पत्र बुझाइएको छ । ‘सेवा, सहयोग र आवाजमा हामी’ नामक संस्थाले सोमबार प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरलाई उद्योगको लापरबाहीले जनस्वास्थ्य र वातावरणमा पारेको गम्भीर असरबारे ध्यानाकर्षण पत्र बुझाएको हो ।
५२ बिगाहा जमिनमा फैलिएको उद्योगबाट निस्कने प्रदूषणका कारण स्थानीय बासिन्दा, बालबालिका, कृषक र पशुचौपायामा गम्भीर स्वास्थ्य समस्या देखिएको भन्दै संस्थाले आपत्ति जनाएको छ । विशेषगरी हेटौँडा–१६ स्थित लक्ष्मी आधारभूत विद्यालय उद्योगको पर्खालसँगै जोडिएकाले विद्यार्थीहरूको स्वास्थ्य र पठनपाठनमा प्रत्यक्ष असर परेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
लामो समयदेखि स्थानीयले श्वासप्रश्वास, आँखा र छालासम्बन्धी समस्या भोगिरहेको भन्दै खानेपानी र खाद्यान्नमा धुलो जम्ने तथा बालीनालीको उत्पादन घटेको स्थानीयले गुनासो गरेकाले ध्यानाकर्षण गराइएको संस्थाका अध्यक्ष विशालराज महतले बताउनुभयो । अध्यक्ष महतले उद्योगले वातावरण संरक्षण ऐन २०७६, औद्योगिक ऐन, जनस्वास्थ्य ऐन र स्थानीय सरकार सञ्चालन ऐनको उल्लंघन गरेको दाबी गर्नुभयो । उहाँले संविधानप्रदत्त स्वच्छ वातावरणमा बाँच्न पाउने र स्वास्थ्यसम्बन्धी मौलिक हकको पालना नभएको बताउनुभयो ।
यस्तै, टोल विकास समितिका अध्यक्ष सुवश चौलागाईंले उद्योगमा जडान गरिएको ठूलो जेनेरेटरका कारण आसपासको क्षेत्रमा दैनिक स–साना भूकम्पको झट्का महसुस हुने गरेको र उद्योगले पटक–पटक आश्वासनमात्र दिएको गुनासो गर्नुभयो । संस्थाले उद्योगमा धुलो नियन्त्रणका लागि आधुनिक डस्ट कलेक्टर, फिल्टर र अन्डरग्राउन्ड सिस्टम जडान गर्नुपर्ने, विद्यालय क्षेत्रलाई संवेदनशील क्षेत्र घोषणा गरी विशेष सुरक्षात्मक उपाय अपनाउनुपर्ने संस्थाको माग छ ।
स्थानीयले व्यहोरेको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र उद्योगको नियमित अनुगमन गरी कडा कारबाही गर्नुपर्ने उनीहरुले माग राखेका छन् । ध्यानाकर्षण पत्र बुझ्दै स्वास्थ्यमन्त्री थापाले प्रदूषण नियमनको विषय वन तथा वातावरण मन्त्रालय र उद्योग मन्त्रालयसँग पनि जोडिने भएकाले ती निकायमा पनि ध्यानाकर्षण गराउन सुझाव दिनुभयो । उहाँले यस विषयलाई गम्भीरताका साथ लिँदै आगामी क्याबिनेट बैठकमा छलफलको एजेण्डा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।











