विद्यालय भनेको बालबालिकालाई ज्ञान वा शिक्षा प्रदान गर्ने ठाउँ हो । नियमित पठनपाठनसँगै सहपाठी सिकाइ, अतिरिक्त क्रियाकलाप, खेलकुद, मनोरञ्जनको माध्यमबाट विद्यालयमा सिक्ने र सिकाउने काम हुने गर्दछ । प्राचीन समयमा गुरुकूल शिक्षाको प्रचलन थियो । शिक्षा दिने गुरुको घर वा आश्रम नै विद्यालयको रुपमा चिनिन्थ्यो । ज्ञान आर्जन गर्न चाहने व्यक्ति त्यहीँ गएर बस्थे र गुरुको सेवा गरेर शिक्षा आर्जन गर्दथे । अहिलेको आधुनिक समयमा विद्यालय भनेको शिक्षक र विद्यार्थी जम्मा भएर अध्ययन–अध्यापन गर्ने ठाउँ हो, जहाँ धेरै कुराहरु हुनुपर्छ । एउटा विद्यालयलाई विद्यालयको रुपमा सहज सञ्चालन गर्न भवन, कक्षाकोठा, शौचालय, खानेपानी, विद्युत्, खेलमैदान, घेरावार, शिक्षक, विद्यार्थी सबै कुरा चाहिन्छ । सूचना तथा सञ्चारका आधुनिक प्रविधिसमेत विद्यालयको लागि अत्यावश्यक बन्दै गएको छ ।
विद्यालय राम्रो हुनका लागि शैक्षिक, भौतिक र प्रशासनिक सबै पक्ष राम्रो हुनुपर्छ । तर, शैक्षिक गुणस्तर राम्रो भएको विद्यालय नै अब्बल विद्यालय मानिन्छ । त्यसैले विद्यालयको नेतृत्व गर्ने व्यक्तिले विद्यालयको शैक्षिक वा प्राज्ञिक क्षेत्रमा बढी ध्यान दिनु आवश्यक हुन्छ । शनिबार हेटौंडामा आयोजित एक कार्यक्रममा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल तथा शिक्षासेवी पुरनबहादुर जोशीले विद्यालयको शैक्षिक नेतृत्वले प्रशासनिकभन्दा प्राज्ञिक विषयमा बढी ध्यान दिए विद्यालयलाई उत्कृष्ट बनाउन सकिने सुझाव दिएका छन् । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनद्वारा आयोजित विद्यालयको नेतृत्व गर्नुहुने प्रधानाध्यापकहरुको हिउँदे शिखर सम्मेलनमा जोशीले संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले विद्यालयमा प्राज्ञिक समूहमार्फत् काम गर्नुपर्नेमा जोड दिएका हुन् । उनले कतिपय विद्यालयका प्रधानाध्यापकहरु शिक्षकहरुसँग समन्वय र सल्लाह नगरी एक्लै सबै काम गर्न खोज्ने कारण विद्यालयको विकास हुन नसकेको बताएका छन् । विद्यालयको नेतृत्वले शिक्षकको भूमिकालाई महत्व दिनुपर्ने उनको धारणा थियो ।
अहिले नेपालमा कक्षा १२ सम्मको शिक्षालाई विद्यालय शिक्षा मानिएको छ । विद्यालय शिक्षामा पूर्वप्राथमिक (बालविकास), आधारभूत (कक्षा १–८) र माध्यमिक (कक्षा ९–१२) गरी तीन तहको विद्यालय छन् । विद्यालयहरु सामुदायिक (सरकारी) र संस्थागत (निजी) गरी मुख्य दुई प्रकारका भए पनि शैक्षिक गुठी, सहकारीबाट सञ्चालित विद्यालय पनि छन् । गुम्बा, मदरसा, गुरुकूलजस्ता धार्मिक प्रकृतिका विद्यालय पनि नेपालमा सञ्चालन भइरहेका छन् । देशभर करिब ३० हजारको संख्यामा विद्यालयहरु सञ्चालनमा रहेका भए पनि अधिकांश विद्यालयहरुको शैक्षिक नतिजा सन्तोषजनक छैन । विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सिकाइ उपलब्धि र नतिजा कमजोर हुँदा विद्यालयलाई प्राज्ञिक थलो बनाउन नसकेको मान्न सकिन्छ । सरकारले शिक्षा क्षेत्रमा पर्याप्त लगानी गर्न सकेको छैन । अधिकांश विद्यालयमा आधारभूत तहको कक्षा ६–८ र माध्यमिक तहमा अध्यापन गर्नका लागि विषयगत शिक्षक दरबन्दी अपुग छ । विद्यालयको नेतृत्व गर्ने प्रधानाध्यापकको छुट्टै व्यवस्थासमेत सरकारले गर्न सकेको छैन ।
विद्यालयलाई प्राज्ञिक थलोको रुपमा विकास गर्न धेरै काम गर्नु आवश्यक छ । विद्यालयका शिक्षक र प्रधानाध्यापकलाई विद्यार्थीको पठनपाठन र शैक्षिक गुणस्तर अभिवृद्धिमा मात्र सीमित गरेर प्राज्ञिक क्षेत्रको विकास गराउन प्रेरित गर्नुपर्छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, प्रधानाध्यापक तथा शिक्षकले विद्यालयभित्र राजनीतिक चरित्र देखाउनु हुँदैन । विद्यालयमा प्रशासनिक र अन्य भौतिक पक्षहरुको व्यवस्थापनका लागि अलग दरबन्दी सिर्जना गर्नु आवश्यक छ । शिक्षाशास्त्र अध्ययन गरेका शिक्षकलाई प्राज्ञिक जिम्मेवारी दिने र व्यवस्थापन वा अन्य उपयुक्त विषय अध्ययन गरेकालाई विद्यालयको प्रशासनिक तथा अन्य कार्यको नेतृत्व प्रदान गर्ने हो भने धेरै सुधार हुनसक्छ ।











