हेटौंडा : हेटौंडा उपमहानगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा डाक्टर (मेडिकल अधिकृत) टिकाइराख्न कठिन भएको छ । उपमहानगरका भित्री वडाका नागरिकलाई लक्षित गरेर सञ्चालित नगर अस्पतालहरुमा डाक्टरलगायत जनशक्ति टिकाइराख्न चुनौती बन्दै गएको हो ।

उपमहानगरपालिकाद्वारा सञ्चालित पदमपोखरी अस्पतालमा रिक्त रहेको आठौं तहको मेडिकल अधिकृत (डाक्टर) पदपूर्ति हुँदा हटिया अस्पतालमा मेडिकल अधिकृत पद रिक्त भएको छ । गत मंसिर १ गतेदेखि हेटौंडा–१६, हटिया अस्पतालमा कार्यरत मेडिकल अधिकृत (आठौं तह) ले राजीनामा दिएपछि दरबन्दी रिक्त भएको हो । हेटौंडा उमहानगरपालिकाले वडा नम्बर १३ र १६ वडामा नगर अस्पताल र अन्य वडामा शहरी स्वास्थ्य केन्द्र सञ्चालन गर्दै आएको छ ।

हेटौंडा–१३ स्थित पदमपोखरी अस्पतालमा पनि करिब पाँच महिना मेडिकल अफिसरबिहीन अवस्थामा रहेकोमा मंसिरदेखि नयाँ मेडिकल अधिकृत हाजिर भई काम गरिरहेका छन् । स्वास्थ्य संस्थामा माथिल्लो तहका प्राविधिक कर्मचारीको स्थायित्व नहुँदा स्थानीय सेवाग्राहीहरु समेत बारम्बार मर्कामा पर्दै आएका छन् ।

स्वास्थ्यकर्मीहरुलाई गाउँमा टिकाउन असहज भएकोले एउटामा पदपूर्ति गराउदाँ अर्कोमा खाली हुने अवस्था आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य प्रमुख सूर्यप्रसाद तिवारीले बताउनुभयो । नगर अस्पतालमा मेडिकल अफिसरको रुपमा कार्यरत डाक्टरले स्थायी सेवामा नाम निकाल्ने वा विदेशमा थप अध्ययन गर्न जाने गरेकाले पनि उपमहानगरपालिकालाई सेवा प्रदान गर्न चुनौती बन्दै गइरहेको जनस्वास्थ्य प्रमुख तिवारीको भनाइ छ । हटिया अस्पतालको सो पदका लागि छिट्टै विज्ञापन निकाल्ने तयारी भइरहेको स्पष्ट पार्नुभयो ।

नगर अस्पतालमा अस्थायी करारमा आठौं तहको मेडिकल अधिकृत २ वटा दरबन्दी स्वीकृत भएको भए पनि हालसम्म नगर अस्पतालहरुमा एक–एक जनामात्रै मेडिकल अधिकृत नियुक्त गर्ने गरिएको छ । यी अस्पतालमा प्रशासन अधिकृत सातौं र छैटौं २/२ जनाको दरबन्दी छ । यस्तै, ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, रेडियोग्राफरलगायत ३६ जनाको स्वीकृत दरबन्दी रहेका छन् ।

नगर अस्पतालबाट नियमित स्वास्थ्य चेकजाँच तथा परामर्श सेवा, खोप सेवा, पोषण, बालरोग सेवा, परिवार नियोजन, सुरक्षित मातृत्व तथा स्वयम्सेविका सेवा, औषधि वितरण सेवा, गाउँघर क्लिनिक सेवा, विद्यालय स्वास्थ्य सेवा, प्रयोगशाला सेवा नियमित सञ्चालनमा छन् । यसबाहेक पदमपोखरी अस्पतालमा सुरक्षित गर्भपतन सेवा र बर्थिङ सेन्टरसमेत सुरु भएको छ । यसैगरी, उपमहानगरपालिकाले सञ्चालन गरिरहेको साविकको बसामाडी, चौघडा, चुरियामाई र हर्नामाडी स्वास्थ्य चौकी र वडाका शहरी स्वास्थ्य केन्द्रहरुमा पनि प्रयोगशाला तथा मेडिकल अधिकृतको चेकजाँच सेवाबाहेक अन्य सेवा सञ्चालनमा रहेका छन् ।

स्वास्थ्य संस्थाहरुबाट नियमितरुपमा सेवा प्रवाहका लागि हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि १० करोड ८५ लाख ४५ हजार रुपैयाँ बजेट बिनियोजन गरेको जनस्वास्थ शाखाले जानकारी दिएको छ । पालिकाले सेवा सञ्चालन गर्दै आएका अन्य स्वास्थ्य चौकी, शहरी स्वास्थ्य केन्द्रहरु तथा प्राथमिक स्वास्थ्य केन्द्रहरुमा भने मानव संशाधनको खासै समस्या नभएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

संघीयता लागू भएपछि निर्माण भएका ऐन तथा नियमावलीमा आधारित भएर स्थानीय तहले काम गर्दा व्यवहारिक बनाउन चुनौती रहेको उदाहरण हेटौंडाले देखाएको छ । नेपालको स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा हरेक स्थानीय सरकारले नागरिकलाई स्वास्थ्य सेवा दिनुपर्ने व्यवस्था गरेपछि हेटौंडा उपमहानगरपालिकाले सबै वडाहरुमार्फत् स्वास्थ्य सेवा दिने उद्देश्यले साबिकका स्वास्थ्य चौकी तथा थप आधारभूत स्वास्थ्य केन्द्रहरु, २ वटा नगर अस्पताल र २ वटा आयुर्वेद औषधालय गरी २२ वटा स्वास्थ्य संस्थाहरुमार्फत् सेवा दिँदै आइरहेको छ ।