उपाधि विजेता भाइटल एज वारियरको तस्वीर।

हेटौंडा : मेड क्रिक सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि भाइटल एज वारियरले उचालेको छ । शुक्रबार हेटौंडा–४, हुप्रचौरमा भएको फाइनल खेलमा पारामेडिक्स ११ लाई ४ विकेटले हराउँदै भाइटल एजले उपाधि उचालेको हो ।

फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको पारामेडिक्स १३ ओभरमा ८९ रनमै अलआउट हुनपुग्यो । ९० रनको लक्ष्य पछ्याएको भाइटल एजले १२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो । पारामेडिक्सका लागि ब्याटिङमा दिवान्सु भण्डारीले २३ बलमा सर्वाधिक ३४ रन बनाए । बलिङतर्फ क्याप्टेन बशिष्ट यादव, दिवान्सु भण्डारी र मुन्ना सहनीले समान २÷२ विकेट लिए ।

भाइटल एजका लागि पप्पु पण्डितले ब्याटिङमा सर्वाधिक ३५ रन बनाए । बलिङतर्फ भाइटल एजका क्याप्टेन सरोज यादवले ४ विकेट, देव साहले २ र विशाल यादवले ३ विकेट लिए ।

विजेता र उपविजेता टोलीले ट्रफीसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । फाइनल खेलमा भाइटल एजका क्याप्टेन यादव प्लेयर अफ द म्याच घोषित भएका हुन् । व्यक्तिगत विधातर्फ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट ब्याट्समेन देव साह, सर्वोत्कृष्ट बलर बशिष्ट यादव र उत्कृष्ट फिल्डर सन्देश बुढाथोकी घोषित भएका हुन् ।

भाइटल एज समूह विजेता र पारामेडिक्स उपविजेता बन्दै फाइनलमा पुगेको थियो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरुको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुको ४ वटा टालीको सहभागिता थियो । प्रतियोगिता समापन कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन इन्दिरा अधिकारी पौडेलको प्रमुख अतिथ्य र परीक्षा संयोजक दिनेश बास्तोलको विशिष्ट आतिथ्य रहेको थियो ।