हेटौँडा : हेटौँडा उपमहानगर क्षेत्रमै गाँजा खेती भएको पाइएको छ । प्रहरीले हेटौँडा–१५ र १६ नम्बर वडामा गाँजा खेती फँडानी गरेको छ । गाँजा खेतीबारे अज्ञात रहेको वडाअध्यक्षहरुको भनाई छ । इलाका प्रहरी कार्यालय पशुपतिनगर, बागमती प्रदेश प्रहरी गण र सशस्त्र प्रहरी बल १४ नम्बर गणको संयुक्त टोलीले बिहीबार गाँजा खेती फँडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

प्रहरीले चिप्लेटी, बंगेली, कासघारी, शक्तिखोला, खानीखेत र दिलेखोलामा अवैध रुपमा गरिएको लागूऔषध गाँजा खेती फँडानी गरेको हो । प्रहरीले १० विगाहा जमिन फँडानी गरेको जनाएको छ ।

बिघौं जमिनमा व्यावसायिक रुपमा अवैध गाँजा खेती प्रहरीले फँडानी गरिरहँदा वडाध्यक्षले गाँजा खेती बारे जानकारी नभएको जनाएका छन् । हेटौँडा १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तानका अनुसार वडामा व्यावसायिक रुपमा गाँजा खेती भइरहेको भन्ने थाहा नभएको बताउनुभयो। प्रहरीले आएर फडानी गरेपछि मात्रै आफुलाई थाहा भएको उहाँको भनाई छ । आगामी दिनमा अनुसन्धान गर्ने र सचेतनामुलक कार्यक्रमको आयोजना गर्ने बताउनुभएको छ ।

यस्तै, १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला पनि यसबारे अज्ञात रहेको बताउनु हुन्छ । गाँजा खेती रहेको स्थान बारा जिल्लाको सिमानाले भेट्ने भएकाले अनुसन्धान नगरेको उहाँको भनाई छ । आगामी दिनमा यसबारे सचेतना कार्यक्रम गर्ने र अनुसन्धान गर्ने उहाँले बताउनुभयो ।