पत्रबार सम्मेलनको क्रममा खिचिएको तस्वीर ।

हेटौंडा : लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य संयन्त्रलाई सुदृढीकरण गर्ने उद्देश्यले बिहीबार बागमती प्रदेशस्तरीय सम्मेलन हेटौंडामा हुने भएको छ । एक्सनएड नेपालको आर्थिक सहयोग तथा मकवानपुर महिला उत्थान समाज, चितवन सक्रिय महिला प्रतिष्ठान, महिला अधिकारका लागि राष्ट्रिय अभियान, मानव अधिकार संरक्षण तथा मानव बेचविखन विरुद्ध जिल्ला सञ्जाल मकवानपुर र यौनजन्य हिंसा विरुद्धको साझा अभियान चितवनको संयुक्त समन्वय र सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको बुधबार पत्रबार सम्मेलनमार्फत् जानकारी दिइएको हो ।

कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्य रहेको आयोजकले जनाएको छ । सम्मेलनलाई बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले उद्घाटन गर्नुहुनेछ । सम्मेलनमा महिला, किशोरी तथा लैङ्गिक अल्पसंख्यकहरूलाई लक्षित गरी हुने विभिन्न प्रकारका हिंसा रोकथाम, पीडितलाई न्याय तथा पुनःस्थापना सुनिश्चित गर्ने उपायबारे छलफल हुने बताइएको छ । लैङ्गिक हिंसा न्यूनीकरणका निम्ति प्रदेश सरकारको भूमिका, संघीय सरकारसँगको समन्वय तथा स्थानीय तहसँगको सहकार्यलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित सम्मेलन गरिन लागेको आयोजकले जनाएको छ ।

सम्मेलनमा १७ जिल्लाका महिला अधिकारकर्मी, हिंसा पीडित, पालिका र वडाका प्रतिनिधि र संघ प्रदेशका प्रतिनिधि गरी ८० भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । कार्यक्रमको दोस्रो सत्रमा प्यानल डिस्कसन हुने बताइएको छ । जसमा सामाजिक विकास महाशाखा प्रमुख अमृत अधिकारी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहोरा, उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता अशोकराज रेग्मी, महिला तथा बालबालिकाका मन्त्रालयकी उपसचिव रोशनी कार्कीको भूमिका रहने बताइएको छ । प्यानल डिस्कसनमा सहजकर्ताको रुपमा महिला अधिवक्ता अप्सरा बस्नेत रहने बताइएको छ ।