पत्रकार सम्मेलनको क्रममा खिचिएको तस्वीर ।

हेटौंडा : नेपाल समाजशास्त्र संघको आयोजनामा ‘नेपालमा समावेशी र सबल समाज निर्माण’ सम्बन्धी अन्तर्राष्ट्रिय समाजशास्त्रीय सम्मेलन बिहीबारदेखि हेटौंडामा हुने भएको छ । बुधबार हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पत्रकार सम्मेलन आयोजना गरी संघका महासचिव पासाङ्ग गुरुङले बिहीबारदेखि शनिबारसम्म सम्बन्धित विषयमा प्रस्तुतिकरण र प्यानल छलफल हुने जानकारी दिनुभयो ।

संघले विभिन्न समयमा समसामयिक विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरु आयोजना गर्दै आएको छ । संघले आयोजना गर्न लागेको यो चौथो अन्तर्राष्ट्रिय सम्मलेन हो । सम्मेलनकोे उद्घाटन कार्यक्रम बिहीबार त्रिभुवन विश्वविद्यालयका उपकूलपतिको प्रमुख आतिथ्यमा पल्पसा प्याराडाइज होटलमा हुनेछ । बाँकी कार्यक्रम शुक्रबार र शनिबार मकवानपुर बहुमुखी क्याम्पसमा हुनेछ ।

कार्यक्रममा विभन्न ४ वटा देशका समाजशास्त्रीहरुको सहभागिता रहनेछ । यसैगरी शिक्षक, जनप्रतिनिध, विभिन्न संघसंस्थाका व्यक्तित्वहरु र समाजशास्त्रका विद्यार्थीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । यसैगरी ललितपुर, भक्तपुर, धुलिखेल र हेटौंडाका नगरप्रमुखको विशेष आतिथ्य रहनेछ । सम्मेलनका १५० जनाको उपस्थिति रहने आयोजकको अनुमान छ ।

सम्मेलनबाट समाज विकास र राष्ट्र निर्माणका लागि नीति निर्माणमा सहयोग पुग्ने आयोजकले जनाएको छ । कार्यक्रममा विभिन्न १६ जना प्रस्तोताले प्रस्तुतिकरण दिनुहुने बताइएको छ । पितृत्व, लैङ्गिक समानता, महिला शिक्षा, आधुनिक समाज, प्रविधि, समावेशीकरण र बहिष्करण लगायतका विषयमा प्रस्तुतिकरण र छलफल हुने आयोजकले जनाएको छ ।