हेटौँडा : बागमती प्रदेशको ३ जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रे, रसुवा र सिन्धुपाल्चोक जिल्लामा सोमबार ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–४ घलेगढीमा खोचमा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४२ वर्षीय अजय बुलुन रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार साँझ ७ बजेर ३० मिनेटको समयमा अजय आफ्नै घरदेखि करिब २ सय मिटर पर रहेको छिमेकी लालबहादुर थिङको घर पछाडिको भित्ताको खोचमा अवस्थामा मृत फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि त्रिशुली अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ लिपिङमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो ४ बजेको समयमा भन्सार कार्यालय अगाडि पार्किङ गरी राखिएको म प्र ०३–००१ ख ७५९६ नम्बरको टेलर आफैँ अगाडि गुडेर ३० वर्षीय सागर घतानीलाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । ठक्करबाट घतानी गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि काठमाडौंस्थित बी एण्ड बी अस्पताल लगिएको थियो । उपचारको क्रममा राती ८ बजेर १५ मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । टेलर चालक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ तातोपानीका ४८ वर्षीय बुध तामाङ र टेलर गाडी इलाका प्रहरी कार्यालय कोदारीको नियन्त्रणमा रहेको छ ।
काभ्रेको पनौती नगरपालिका–५ अनुपडेरीस्थित बनेपा–पनौती सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । शनिबार बिहान ७ बजेको समयमा पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा ९३ प १८४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री सोही स्थानमा रोकिराखिएको बा ५ ख ३७६४ नम्बरको बसमुनि छिरेको प्रहरीले जनाएको छ । दुर्घटनामा पनौती नगरपालिका–२ बस्ने ४५ वर्षीय धनबहादुर तामाङ गम्भिर घाइते भएका थिए भने मोटरसाइकल चालक पनौती नगरपालिका–८ मल्पि बस्ने १९ वर्षीय सुबोध बस्नेतसमेत घाइते भएका थिए । घाइतेलाई दुवै उपचारका लागि शिर मेमोरियल अस्पताल बनेपा लगिएको थियो । पैदल यात्री तामाङलाई सामान्य उपचार पश्चात थप उपचारका लागि बिहान साँढे ७ बजेको समयमा काठमाडौंस्थित नर्भिक अस्पताल रिफर गरिएको थियो । उपचारका क्रममा तामाङको सोमबार राती १० बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल चालक बस्नेतको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल, बस र बस चालक बेथानचोक गाउँपालिका–५ का ३६ वर्षीय वाङ्बु लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











